Line Khabar
मङ्लबार, भदौ ३१, २०८२ | September 16, 2025
  • होमपेज
  • बेहाल हुनबाट जोगिन मूलधारमा फर्कनुस् : ओली

बेहाल हुनबाट जोगिन मूलधारमा फर्कनुस् : ओली

‘दसा’ लागेका केही पार्टी छाडेर गएको टीप्पणी

बेहाल हुनबाट जोगिन मूलधारमा फर्कनुस् : ओली
PM KP Oli Speeking.

काठमाडौँ, १४ माघ ०७७ / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई ‘बेहाल’ हुनबाट जोगिन पार्टीको मूलधारमा फर्कन नेकपाको अर्को समूहलाई आग्रह गर्नुभएको छ । नेकपा निकट आदिवासी जनजाति महासङ्घ नेपालको राष्ट्रिय भेलालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तोकिएको समयमा निर्वाचन गराएर मुलुकलाई स्थिरतातर्फ अगाडि बढाउन सरकार र पार्टी सक्रिय रहेकाले केही पनि नेता–कार्यकर्ताले बाटो बिराउनु नपर्ने बताउनुभएको हो ।

कानूनीरुपमा एक भए पनि गत पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि नेकपा दुई समूहमा विभाजित छ । अध्यक्ष ओलीले पार्टीको हालको विवाद ‘नक्कली’ भएको र आधिकारिक पार्टीको नेतृत्व आफूले गरिरहेको उल्लेख गर्दै आगामी वैशाख १७ र २७ गतेका लागि तोकिएको निर्वाचनले अहिले सडकमा विरोध गरिरहेकालाई ‘बरफ पग्लिएझैँ पखाल्ने’ जनाउनुभयो । उहाँले ‘दसा’ लागेका केही पार्टी छाडेर गए पनि कम्युनिष्ट आन्दोलन, स्थिरता र समृद्धिको यात्रामा कुनै गत्यावरोध नहुने स्पष्ट गर्नुभयो । उहाँले जनतालाई तर्साउने र अल्मलाउने तथा जातीय भड्काउको नारा उराल्ने जमाना गइसकेकाले त्यस्ता प्रवृत्तिलाई जनताले चिनिसकेको पनि बताउनुभयो ।

अध्यक्ष ओलीको प्रश्न थियो, “हामी विसं २०४७ मा पार्टीको चुनाव चिह्न सूर्य चयन गरेका हौँ । त्यो चिह्न मैले नै छानेको हो । कहिल्यै सूर्य चिह्नबाट निर्वाचन नलडेकालाई कहिले किन त्यो चिह्न चाहियो ?” उहाँले आफूले भारतले मिचेको नेपाली भूभाग फिर्ता ल्याउँछुभन्दा नक्कली राष्ट्रवाद भन्नेले विगतमा आफू सरकारमा हुँदा किन नयाँ नक्सा जारी गर्न नसकेको र चीनसँग व्यापार तथा पारवाहन सन्धिसम्झौता गर्न नसकेको भनी प्रश्न पनि गर्नुभयो ।

कार्यक्रममा नेकपामा सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापाले ताजा जनादेशका लागि निर्वाचन तोकिएकाले निर्वाचनबाट आफ्नो पार्टीले दुई तिहाइ बहुमत ल्याई स्थिरता दिने बताउनुभयो । उहाँले कम्युनिष्ट आन्दोलनमा देखा परेको अवसरवाद र प्रतिगामी प्रवृत्तिलाई निर्वाचनले किनारा लगाउने पनि बताउनुभयो ।

कार्यक्रममा अध्यक्ष ओलीले पूर्व सांसद जितवीर लामा र राजनीतिकर्मी कमानसिंह लामालाई नेकपामा प्रवेश गराउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका