अजयकुमार शाह धनुषा, १५ माघ ०७७ / पुसको अन्तिम सातादेखि लगातार चलिरहेको शीतलहर र बाक्लो हुस्सुसँगै बढेको जाडोले धनुषासहित मध्य तथा पूर्वी तराईका जिल्लाको जनजीवन प्रभावित भएको छ । दुई सातादेखि घाम नलागेपछि यस क्षेत्रमा अत्यधिक चिसो बढेको छ । प्रायः दिनभर मौसम प्रतिकूल भएपछि चहलपहल घटेको छ । जाडोमा खासगरी बालबालिका र वृद्धवृद्धा बढी […]
"/> शीतलहरले तराई–मधेशको जनजीवन कष्टकर - Line Khabar
Line Khabar
शुक्रबार, भदौ २८, २०८१ | September 13, 2024
  • होमपेज
  • शीतलहरले तराई–मधेशको जनजीवन कष्टकर

शीतलहरले तराई–मधेशको जनजीवन कष्टकर

विपन्नलाई राहत दिन स्थानीय सरकार उदासीन

शीतलहरले तराई–मधेशको जनजीवन कष्टकर

अजयकुमार शाह
धनुषा, १५ माघ ०७७ / पुसको अन्तिम सातादेखि लगातार चलिरहेको शीतलहर र बाक्लो हुस्सुसँगै बढेको जाडोले धनुषासहित मध्य तथा पूर्वी तराईका जिल्लाको जनजीवन प्रभावित भएको छ । दुई सातादेखि घाम नलागेपछि यस क्षेत्रमा अत्यधिक चिसो बढेको छ । प्रायः दिनभर मौसम प्रतिकूल भएपछि चहलपहल घटेको छ ।

जाडोमा खासगरी बालबालिका र वृद्धवृद्धा बढी प्रभावित हुने गर्दछन् भने आर्थिक विपन्नता हुने कतिपय मानिसको कठ्याङ्ग्रिएर मृत्यु समेत हुने गरेको छ । चिसो बढेसँगै बजारमा जाडोका कपडाको व्यापार बढेको छ । जाडो याममा न्यानो लुगाफाटोको बिक्री बढ्नुका साथै माछा, मासु र अण्डाको बिक्री पनि बढेको छ । अत्यधिक चिसोको कारण तरकारी खेती पनि प्रभावित हुन थालेको छ । चिसोका कारण बाली थन्काउने तथा गहुँलगायतका अन्नबाली छर्ने चटारोमा रहेका किसानलाई समेत समस्या भएको छ ।

आलुबालीको पात तुषारोका कारण गल्नसक्ने सम्भावना देखिन थालेको छ । कृषि क्षेत्रमा मौसमको प्रतिकूलताले नोक्सान हुने सम्भावना बढ्न थालेको छ । आकाशमा दिनभरनै लाग्ने गरेको कुहिरो र हुस्सुसँगै चलेको शीतलहरले आलु र गोलभेंडाका बोट नष्ट हुन थालेका छन् । मिथिला नगरपालिकाका किसान राम उदगार महतोले आलु र गोलभेंडा फल्ने बेलामा ह्वात्तै बढेको चिसो र शीतलहरका कारण रोग लागेर बिरुवा नै सुक्न थालेपछि किसान मर्कामा परेको बताउनुभयो । उहाँले गोलभेँडा र आलुमा डढेलो, तोरी र सिमीमा पात सुख्ने र काउलीको भित्री डाँठ नै कुहिन थालेको बताउनुभयो ।

खाद्य तथा पोषण सुरक्षा आयोजना जनकपुरधामका प्रमुख एवं वरिष्ठ कृषि विकास अधिकृत सुकेश्वर झाले बाक्लो कुहिरोसँगै चलेको शीतलहरले तेलहन, दलहन तथा तरकारी बालीमा समस्या हुने जानकारी दिनुभयो । तराईमा सम्भवत पुसको पहिलो हप्तादेखि माघको अन्तिमसम्म बढी जाडो हुने गर्छ । यस पटक पुसको अन्तिम सातादेखि तराई–मधेसमा शीतलहरको कहर शुरु भएको छ । बिहानसाँझ चिसो बढेको त छ नै, तीन दिनदेखि दिउँसो पनि घाम देखिँदैन । आर्थिक स्थिति कमजोर हुने तराईका मुसहर र डोमजस्ता विपन्न समुदायका लागि शीतलहर कहर मात्रै नभइ ‘काल’ बनेर आउने गरेको छ ।

यस्ता विपन्न गरिब समुदायको सिरक डसना भनेकै पराल हो । उनीहहरु कठ्याङ्ग्रिएर आगो ताप्न पनि पराल नै बाल्ने गर्छन् भने पराल नै ओछ्याएर सुत्ने गर्छन् । क्षीरेश्वरनाथ नगरपालिका–३ का ५५ वर्षीय पचु मुसहरले भन्नुभयो, “पराल ओछ्याएर सुते पनि माथि खरकै छानो भएकाले जबजब रात छिपिँदै जान्छ, शीत छानाबाट तप तप चुइन थाल्छ, राम्रोसँग निदाउन सकिँदैन ।”

प्रदेश २ का धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा अहिले गरिब र दलित बस्तीमा चिसोबाट बच्ने प्रमुख साधन पराल बनेको छ । शीतलहरले गरिबको दैनिकी प्रभावित बनाएको छ । दैनिक कामगरी खाने मजदूर बिहानबेलुका बाहिर निस्कन सकेका छैनन् । शीतलहरको प्रकोप बढ्न थाले पनि स्थानीय सरकारले गरीब तथा विपन्नलाई ्कुनै राहतका दिन सकेका छैनन् ।

प्रदेश नं २ को राजधानी जनकपुरको पनि अवस्था चिन्ताजनक छ । “रिक्सा पेल्न बजार ननिस्किए चुलो नबल्ने चिन्ता, निस्किए कठ्याङ्ग्रिदो चिसोले ज्यानै जाने डर छ”, जनकपुरधाम उपमहानगरपालिका–२ का ठेला चलाउने रामप्रवोध सदाले भन्नुभयो । उहाँले ठेला चलाएर थोरै आम्दानी हुने भएकाले छोराछोरीका लागि बाक्लो लुगा किन्न नसकेको बताउनुभयो । सदाले भन्नुभयो, “न्यानो कपडा नहुँदा घरमा पराल ओछ्याएर रात काट्ने गरेको छु, हाम्रो पीडा सरकारसमक्ष पुर्याइदिनुस् ।”

सदा जस्तै अन्य विपन्न समुदायका मजदूरको पीडा पनि उस्तै छ । दैनिक मजदूरी गरी जीविकोपार्जन गर्ने मजदूर, किसान र रिक्साचालक जाडोबाट बढी प्रभावित भएका छन् । जाडो र शीतलहरका कारण बालबालिकामा निमोनियाको प्रभाव बढी देखिएको छ । दमका रोगीको सङ्ख्या पनि बढेको चिकित्सकको भनाइ छ । शीतलहर शुरु भए पनि स्थानीय तहले जाडोबाट बच्ने उपाय तथा पूर्व तयारीबारे कार्यक्रम नल्याएको सर्वसाधरणको गुनासो छ ।

जनता आवास कार्यक्रमले प्रदेश नं २ का जिल्लाका दलितको झुपडी भत्काएर दुई कोठे पक्की घर निर्माण गर्न लागे पनि त्यस्ता घरको छाना, झ्याल ढोका नहुँदा अवस्था झनै दयनीय छ । यहाँका बासिन्दाको दैनिकी कष्टकर बन्दै गएको छ । जनता आवासले दुई वर्षअघि घर बनाउन थाले पनि छाना नहाल्दा चिसोमा पाल टाँगेर बस्न बाध्य हुनुपरेको महोत्तरी भङ्गाहा नगरपालिका मुसहर बस्तीका रामपृत सदाले बताउनुभयो ।

एक्कासि चिसो बढेपछि विभिन्न जिल्लाका सरकारी कार्यालयमा आउने सेवाग्राही समेत समस्यामा परेका छन् । सधैँ भिडभाड हुने जनसरोकारका सरकारी कार्यालयमा बढ्दो चिसोका कारण सेवाग्राहीको उपस्थिति पातलिँदै गएको छ । बाक्लो हुस्सुका कारण जनकपुर विमानस्थलवाट हुने हवाई उडानसमेत प्रभावित भएको छ । मङ्गलबार बिहानैदेखि बाक्लो हुस्सु लागेकाले जनकपुर विमानस्थलको सम्पूर्ण हवाई उडान चार दिनदेखि प्रभावित भएको छ ।

खराब मौसमका कारण जनकपुर काठमाडौँ उडान रद्द गरिएको जनकपुर नागरिक उडड्यान कार्यालय जनकपुर विमानस्थलका प्रमुख किरण गौतमले जानकारी दिनुभयो। गौतमका अनुसार, मौसममा आएका खराबीका कारण विमानस्थलमा जहाज उडान र अवतरणका लागि न्यूनतम दुई हजार मिटर भिजिबिलिटी आवश्यकपर्नेमा जनकपुर विमानस्थलमा हुस्सु लागेका कारण भिजिबिलिटी ५०० मिटर मात्रै भएकाले सबै उडान रद्द गरिँदै गरिएको हो ।

अत्यधिक चिसोको कारण सार्वजनिक यातायात सेवामा पनि यात्रु नभएर खालीखाली गुडेको देखिन्छ । बाक्लो कुहिरोका कारणले सवारीसाधन सडकमा गुडाउनमा पनि समस्या भइरहेको छ । जनकपुरधामको आज बिहानको तापक्रम १० डिग्रीमा झरेको थियो ।

चिसो बढेसँगै प्रादेशिक अस्पताल जनकपुरधाम र र विभिन्न स्थानीय तहको स्वास्थ्यचौकीमा बिरामीको चाप पनि बढेको छ । चिसोसँगै भाइरल ज्वरोको प्रकोप अझै बढ्ने सम्भावना देखिएको छ । सम्पन्न व्यक्तिभन्दा विपन्न वर्गमा शीतलहर र भाइरल ज्वरोको प्रकोप देखिएको छ । बढ्दो चिसोका कारण स्वास्थ्य संस्थामा कोल्ड डाइरिया, ज्वरो, रुघाखोकी र स्वाशप्रश्वासका बिरामीको सङ्ख्या बढेको देखिएको छ । चिसोको मौसमी प्रताडना भोग्नुपरे पनि सरकारले राहतको व्यवस्था गर्न सकेको छैन । तत्काल राहत उपलब्ध गराउन पीडितपक्षले माग गर्दै आएका छन् ।

प्रादेशिक अस्पताल जनकपुरधामका चिकित्सक डा जामुनप्रसाद सिंहका अनुसार चिसोबाट जोगिन धुवाँ–धूलोबाट बच्ने, न्यानो लुगा लगाउने, पोषणयुक्त सन्तुलित खाना खाने, भिटामिन सी पर्याप्त मात्रामा भएको र मौसमअनुसारका ताजा फलफूल तथा सागपात पर्याप्त मात्रामा खाने, सरसफाइमा बढी ध्यान दिने तथा प्रशस्त मात्रामा तातो झोल पदार्थ खाने गर्दा चिसोबाट बच्न सकिन्छ ।

डा सिंहले भन्नुभयो, “यसका अतिरिक्त धुलोधुवाँ, चिसो र सङ्क्रमणबाट जोगिन मास्क लगाउने गर्नुपर्छ । शरीर तथा कोठा न्यानो बनाउने निहुँमा धूमपान, मद्यपानको सेवन गर्ने, झ्याल, ढोका थुनेर गुइँठा, दाउराको आगो बाल्ने गर्नुहुँदैन । बिरामी र केटाकेटीका लागि चिसो खतरा हुन्छ । चिसो र हुस्सुबाट जोगिन खानपिनमा पनि विशेष ध्यान दिनु जरुरी छ ।”

चिकित्सकहरूले चिसोबाट जोगिन शरीर ढाक्ने गरी लुगा लगाउनुपर्ने, तातो खानेकुरा तथा तातो पानी झोलिलो पदार्थ सेवन गर्नका लागि सर्वसाधारणमा आग्रह गरेका छन् । साथै अतिआवश्यक काम नभएको खण्डमा घर बाहिर ननिस्कनका लागि समेत आग्रह गरेका छन् । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका