चितवन, १९ वैशाख (०७८) । यातायात व्यवस्था सेवा कार्यालय, भरतपुरले अब लाइसेन्सबाहेकका सबै काम गर्न पाउने भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय वाग्मती प्रदेशले यातायात कार्यालयको सीमित काम मात्रै गर्दै आएको सेवा कार्यालयलाई यातायात व्यवस्था कार्यालयसरह अधिकार दिने निर्णय गरेसँगै अधिकार थप भएको हो । यातायात व्यवस्था सेवा कार्यालय, भरतपुरका सूचना अधिकारी गोविन्द पौडेलका […]
"/> लाइसेन्सबाहेक यातायातको सबै काम जिल्लाबाटै - Line Khabar
Line Khabar
बिहिबार, अशोज ३, २०८१ | September 19, 2024
  • होमपेज
  • लाइसेन्सबाहेक यातायातको सबै काम जिल्लाबाटै
यातायात भरतपुरलाई थप अधिकार

लाइसेन्सबाहेक यातायातको सबै काम जिल्लाबाटै

एक महिनाभित्र सेवा सञ्चालनमा ल्याइने

लाइसेन्सबाहेक यातायातको सबै काम जिल्लाबाटै

चितवन, १९ वैशाख (०७८) । यातायात व्यवस्था सेवा कार्यालय, भरतपुरले अब लाइसेन्सबाहेकका सबै काम गर्न पाउने भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय वाग्मती प्रदेशले यातायात कार्यालयको सीमित काम मात्रै गर्दै आएको सेवा कार्यालयलाई यातायात व्यवस्था कार्यालयसरह अधिकार दिने निर्णय गरेसँगै अधिकार थप भएको हो ।

यातायात व्यवस्था सेवा कार्यालय, भरतपुरका सूचना अधिकारी गोविन्द पौडेलका अनुसार हालसम्म बिलबुक नवीकरण, पटके जाँचपास र रुट परमिट नवीकरण मात्रै हुँदै आएको छ । प्रदेश सरकारको निर्णयसँगै अब नयाँ सवारी दर्ता, नामसारी र बिलबुकको प्रतिलिपिसमेत यहाँबाट लिन पाइने छ ।

सबै तयारी पूरा गरेर एक महिनाभित्रमा सेवा सञ्चालनमा ल्याइने उहाँले जानकारी दिनुभयो । भन्सार कार्यालय, सवारी बिक्री गर्ने कम्पनीलगायतलाई जानकारी गराएर आवश्यक प्रक्रिया पूरा गरी सेवा विस्तार गरिने उहाँको भनाइ छ ।

वाग्मती प्रदेश सरकारको यही वैशाख ८ गतेको मन्त्रिस्तरीय निर्णयबाट आजदेखि सेवा सञ्चालन गर्ने गरी परिपत्र आएको भए पनि तयारी पूरा हुन नसकेको उहाँको भनाइ छ । सेवाका लागि कोड नं प्राप्त भएको र कार्यालयमा उपलब्ध जनशक्तिलाई नै उच्चतम प्रयोग गरी सेवा प्रवाहको व्यवस्था मिलाउन पत्रमार्फत निर्देशन आएको उहाँले बताउनुभयो । यसअघि ती सेवाका लागि हेटौँडा र वीरगञ्ज धाउनुपर्ने बाध्यतासँगै यहाँका यातायात व्यवसायीले जिल्लामा सबै काम हुने गरी कार्यालय स्थापना गर्न पहल गर्दै आएका थिए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्षसमेत रहनुभएका स्थानीयवासी रामप्रसाद सुवेदीले लाइसेन्सको काम संरचना निर्माण भएपछि सञ्चालन गर्ने गरी प्रदेश सरकारबाट अधिकारसहितको पत्र प्राप्त गर्न सफल भएको बताउनुभयो ।

यातायात कार्यालयको सेवा सञ्चालन गर्न पूर्वाधार निमार्णका लागि गत भदौ ३ गते को वाग्मती प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले आँपटारीमा दुई बिघा सात कठ्ठा जग्गा प्रदान गर्ने निर्णय गरेको छ । सङ्घीय सरकारले निर्णय गर्नेबित्तिकै त्यहाँ संरचना निमार्ण शुरु हुने सुवेदीको भनाइ छ । जिल्लामा यातायात कार्यालय स्थापना गर्न स्थानीय तहले पनि पहल गर्दै आएका छन् ।

चितवन सवारी साधनको निकै चाप हुने जिल्ला हो । सामान्य कामका लागि समेत वीरगञ्ज पुग्नुपर्दा निकै खर्चिलो र झण्झटिलो हुने गरेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका