काठमाडौँ, २१ वैशाख (०७८) । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका श्रमिकलाई कोरोना भएमा कोषले एक लाख रुपियाँसम्मको उपचार खर्च बेहोर्ने व्यवस्था गरेको छ । यसका लागि योगदानकर्ताले कोषमा कम्तीमा पनि तीन महिना योगदान गरेको हुनुपर्नेछ । कोषले यसअघि स्वास्थ्य उपचारका लागि गरेको व्यवस्थाअनुरूप कोषमा सूचीकृत भएका श्रमिकलाई उक्त सेवा पाउने व्यवस्था गरेको हो […]
"/> सामाजिक सुरक्षा कोषमा सूचीकृत श्रमिकले कोरोना भएमा एक लाख पाउने - Line Khabar
Line Khabar
बिहिबार, भदौ २७, २०८१ | September 12, 2024
  • होमपेज
  • सामाजिक सुरक्षा कोषमा सूचीकृत श्रमिकले कोरोना भएमा एक लाख पाउने

सामाजिक सुरक्षा कोषमा सूचीकृत श्रमिकले कोरोना भएमा एक लाख पाउने

सामाजिक सुरक्षा कोषमा सूचीकृत श्रमिकले कोरोना भएमा एक लाख पाउने

काठमाडौँ, २१ वैशाख (०७८) । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका श्रमिकलाई कोरोना भएमा कोषले एक लाख रुपियाँसम्मको उपचार खर्च बेहोर्ने व्यवस्था गरेको छ । यसका लागि योगदानकर्ताले कोषमा कम्तीमा पनि तीन महिना योगदान गरेको हुनुपर्नेछ । कोषले यसअघि स्वास्थ्य उपचारका लागि गरेको व्यवस्थाअनुरूप कोषमा सूचीकृत भएका श्रमिकलाई उक्त सेवा पाउने व्यवस्था गरेको हो ।

कोषका अनुसार अस्पताल भर्ना भएर उपचार गर्न परेको खण्डमा एक वर्षमा एक लाख रुपियाँ पाउनेछन् भने कोरोना भएर घरमै उपचार गरेकाको हकमा भने २५ हजार रुपियाँसम्म उपचारबापत रकम दाबी गर्नसक्ने व्यवस्था छ ।

कोषका कार्यकारी निर्देशक कपिल ज्ञवालीले कोषको यसअघिका योजनामा पर्ने सबै सेवासुविधा कोषमा सूचीकृत भएका कोरोना सङ्क्रमितले पनि पाउने जानकारी दिनुभयो । सूचीकृत श्रमिकको कोरोनाले मृत्यु भएमा मृतकका आश्रित परिवारले सुविधा पाउने पनि उहाँले जानकारी दिनुभयो । योगदानकर्ताले बिरामी हुँदा औषधोपचार र स्वास्थ्य सुरक्षा योजनाअन्तर्गतका सुविधा पाउने भन्दै कार्यकारी निर्देशक ज्ञवालीले भन्नुभयो, “मृत्यु भएमा आश्रित परिवार सुविधा योजनाअन्तर्गतको सुविधा आश्रित परिवारले पाउनुहुनेछ ।”

कोषका अनुसार हालसम्म सूचीकृत श्रमिकको कोरोनाका कारण निधन भएको छैन । सङ्क्रमण भएकाले भने उपचार खर्चबापतको रकम पाइरहेका छन् ।

कोरोनाका कारण कोषमा आबद्ध श्रमिकको मृत्यु भएमा अन्य रोगबाट जस्तै खाइपाई आएको आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकम आश्रित परिवार (श्रीमान् वा श्रीमती)लाई आजीवन निवृत्तिभरण दिइनेछ । छोराछोरीको हकमा भने उनीहरू १८ वर्ष पूरा नभएसम्म मृतकको आधारभूत पारिश्रमिकको ४० प्रतिशत रकम मासिक शैक्षिकवृत्तिका रूपमा दिने व्यवस्था गरेको छ । एकभन्दा बढी सन्तान भएमा सोही रकम दामासाहीले पाउने व्यवस्था गरिएको छ ।

कोषका अनुसार यदि कुनै सन्तान निरन्तर अध्ययनरत रहे कोषले त्यस्तो सुविधा २१ वर्ष पूरा नभएसम्म प्रदान गर्नेछ । शारीरिक तथा मानसिक अशक्तता भएका मृतक योगदानकर्ताका सन्तानका हकमा भने उमेर हद लागू हुनेछैन । यस्तो अवस्थाका जुनसुकै उमेरका छोराछोरीले शैक्षिकवृत्तिबापत रकम पाउनेछन् ।

मृतक योगदानकर्ता अविवाहित भए उसमा आश्रित आमाबुबालाई आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकम जीवनकालभर मासिक रूपमा प्रदान गरिनेछ । आमाबुबाको वैकल्पिक रोजगार रहेको वा अन्यत्रबाट माथि उल्लेखितभन्दा बढी सुविधा पाउने भए यो सुविधा दिइने छैन । त्यस्तै मृतकका हकवालाले अन्तिम संस्कार खर्चबापत २५ हजार रुपियाँ पाउने व्यवस्था छ । हकवालाले यस्तो रकम एकमुष्ट पाउनेछन् ।

सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि २०७५ (दोस्रो संशोधन)मा कुनै योगदानकर्ताको सुविधा प्राप्त गर्ने उमेर नपुग्दै मृत्यु भएमा उसको हकवालालाई कोषमा गरेको योगदान, रोजगारदाताको तर्फबाट भएको योगदान र कोषको लगानीबाट प्राप्त प्रतिफलसमेत जोडी हुन आउने कुल योगदान रकम एकमुष्ट दिइने उल्लेख गरिएको छ ।

हाल सामाजिक सुरक्षा कोषमा १३ हजार ७९७ रोजगारदाता र दुई लाख ९९६ श्रमिक सूचीकृत छन् । जसमा कोरोना र अन्य रोगको औषधि उपचार तथा स्वास्थ्यतर्फ सूचीकृतमध्ये दुई हजार ५२४ ले दाबी गरेकामा एक हजार ५७६ श्रमिकलाई ३२ करोड ३१ हजार ३२१ रुपियाँ भुक्तानी गरिसकेको कोषले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका