Line Khabar
मङ्लबार, भदौ ३१, २०८२ | September 16, 2025
  • होमपेज
  • माओवादी केन्द्रद्वारा प्रधानमन्त्री ओलीलाई दिएको समर्थन फिर्ता, प्रधानमन्त्री अल्पमतमा

माओवादी केन्द्रद्वारा प्रधानमन्त्री ओलीलाई दिएको समर्थन फिर्ता, प्रधानमन्त्री अल्पमतमा

माओवादी केन्द्रद्वारा प्रधानमन्त्री ओलीलाई दिएको समर्थन फिर्ता, प्रधानमन्त्री अल्पमतमा

काठमाडौँ, २२ वैशाख (०७८) । नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादीले समर्थन फिर्ता लिइएको व्यहोराको पत्र आज सङ्घीय संसद् सचिवालयलाई दिएको छ ।

माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले सङ्घीय संसद्का महासचिवलाई समर्थन फिर्ता लिएको पत्र बुझाउनुभएको हो । सो क्रममा संसदीय दलका नेता एवं अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत सांसदको उपस्थिति थियो । “माओवादी केन्द्र सङ्घीय संसदीय दलको निर्णयअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई दिएको समर्थन आजकै मितिदेखि लागू हुने गरी फिर्ता लिइएको छ”, अध्यक्ष दाहालद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ ।

नेपालको संविधानको धारा ७६ (२) अन्तर्गत प्रधानमन्त्रीका रुपमा नेकपा (एमाले)का संसदीय दलका नेता केपी शर्मा ओलीलाई माओवादीले २०७४ फागुनमा समर्थन गरेको थियो । विसं २०७५ जेठमा एमाले र माओवादी केन्द्रबीच एकीकरण भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एउटै संसदीय दल बनेको थियो । गत फागुन २३ गते सर्वोच्च अदालतको फैसलाबाट दुई पार्टीबीचको एकता भङ्ग भएको थियो ।

फैसलापछि पार्टी एकता भङ्ग गरेदेखि नै माओवादीले वर्तमान सरकारलाई आफूहरुको समर्थन नरहेको दोहोर्याउँदै आएको भएपनि माओवादीले समर्थन फिर्ता लिने औपचारिक निर्णय गर्न सकेको थिएन । सरकारलाई दिएको समर्थन फिर्ता लिन माओवादीलाई पार्टीभित्रबाट चर्को दबाब परेको थियो । त्यसबेला माओवादीले तत्काल समर्थन फिर्ता लिँदा मुलुक झन् राजनीतिक र संवैधानिक सङ्कटमा फस्ने भन्दै उचित समय आएपछि निर्णय लिइने बताउँदै आएको थियो । माओवादीले औपचारिक रुपमा सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री ओली अल्पमतमा पर्नुभएको छ । उहाँको दल एमालेसँग १२१ सांसद रहेका छन् । संसद्मा बहुमत पुग्न १३७ मत आवश्यक पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका