Line Khabar
मङ्लबार, भदौ ३१, २०८२ | September 16, 2025
  • होमपेज
  • आरोपप्रत्यारोप गर्ने बेला होइन, बाँच्ने र बचाउने बेला होः सञ्चार मन्त्री गुरुङ

आरोपप्रत्यारोप गर्ने बेला होइन, बाँच्ने र बचाउने बेला होः सञ्चार मन्त्री गुरुङ

आरोपप्रत्यारोप गर्ने बेला होइन, बाँच्ने र बचाउने बेला होः सञ्चार मन्त्री गुरुङ

काठमाडौँ, २३ वैशाख (०७८) । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कोरोना भाइरसविरुद्ध एक जुट हुन सबै राजनीतिक दललाई आग्रह गर्नुभएको छ । सरकारका प्रवक्ता गुरुङले कोरोना भाइरस महामारीका समयमा सरकारको आलोचना मात्रै गर्नेभन्दा पनि सकारात्मक ढङ्गबाट आआफ्ना ठाउँबाट एक जुट भएर सहयोग गर्न सबै राजनीतिक दललाई अनुरोध गर्नुभयो ।

मन्त्रालयद्वारा आज निजी क्षेत्रका सञ्चारमाध्यमका सञ्चालकसँगको छलफलमा उहाँले भन्नुभयो,“यो एकले अर्कालाई आरोपप्रत्यारोप गर्ने बेला होइन, बाँच्ने र बचाउने बेला हो, हामी सबै मिलेर मानवीय रुपमा एकले अर्कालाई सहयोग गर्ने बेला हो, सबैले सकारात्मक ढंगबाट सहयोग गरौँ ।”

मन्त्री गुरुङले भ्रामक समाचारभन्दा पनि कोरोनाबाट बच्न सकिने सन्देशमूलक समाचार प्रकाशन÷प्रसारण गर्न आमसञ्चारमाध्यमलाई आह्वान गर्नुभयो । उहाँले केही मिडियाले जनतालाई आतङ्कित गर्ने गरी समाचार सम्प्रेषण गर्ने गरेको बताउँदै कोरोनाबाट बच्ने विषयवस्तु सम्प्रेषण गर्न मिडियालाई आग्रह गर्नुभयो ।

मन्त्रालयले ‘अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कौँ’, ‘बेलाबेलामा साबुनपानीले हात धोऔँ’, ‘सेनिटाइजरले हात सफा गरौँ’, हात नमिलाऔँ बरु टाढैबाट नमस्कार गरौँ’ र ‘कोरोना संक्रमणको शंका लागे तुरुन्त परीक्षण गरौँ’ जस्ता सन्देश सम्प्रेषण गर्न मिडियालाई आह्वान गरेको छ ।

मन्त्रालयले कोरोनाबारे जनचेतनामूलक समाचार र कार्यक्रमबारे योजना बनाउन सम्बन्धित संघसंस्थाका सहभागितामा सचिवालय पनि गठन गर्ने भएको छ । नेपाललाई कोरोनामुक्त राष्ट्र घोषणा गर्ने गरी मिडियाले सकारात्मक सन्देश दिनुपर्ने मन्त्री गुरुङको भनाइ थियो । उहाँले सरकारले कोरोना न्यूनीकरण र बिरामीको उपचारमा सक्दो काम गरिरहेको प्रष्ट पार्नुभयो ।

सो अवसरमा इकागज डटकमका सम्पादक हरिबहादुर थापाले कोरोनाबारे कस्तो विषयवस्तु दिने भन्ने विषयमा मिडिया क्षेत्र नै अन्योलमा परेको बताउँदै त्यसबारे सरकारको प्रष्ट धारणा आउनुपर्नेमा जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका