Line Khabar
सोमवार, भदौ ३०, २०८२ | September 15, 2025
  • होमपेज
  • पार्टी एकताको पक्षमा लाग्न अध्यक्ष ओलीको आह्वान
एमालेमा एकताको खोजी

पार्टी एकताको पक्षमा लाग्न अध्यक्ष ओलीको आह्वान

विरोधीको दिग्विजय गराएर उत्सव मनाउने अपराध कर्ममा संलग्न नहुन आग्रह

पार्टी एकताको पक्षमा लाग्न अध्यक्ष ओलीको आह्वान

काठमाडौँ, २६ वैशाख (०७८) । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई मजबुत पार्दै अघि बढ्ने कार्यमा सबैलाई सरिक हुन आग्रह गर्नुभएको छ । उहाँले बाहिर भ्रम फैलाइएजस्तो र हल्ला चलाइएजस्तो पार्टीले कसैलाई पनि काखापाखा वा पक्षपात नगरेको स्पष्ट गर्नुभएको छ ।

अध्यक्ष ओलीले आज जारी गरेको प्रेस वक्तव्यमा भनिएको छ, “म यो कुरामा सबैलाई आश्वस्त पार्न चाहन्छु, तसर्थ पार्टीलाई मजबुत पार्दै अघि बढ्ने महान् कार्यमा सरिक हुन म सबैमा आग्रह गर्दछु ।”

प्रधानमन्त्री ओलीले कुनै पनि तहमा पार्टीका सरकारलाई ढालिछाड्ने र विरोधीको दिग्विजय गराएर उत्सव मनाउनेजस्ता घातक र दुःखद् प्रवृत्ति आज पनि देखापरेको र त्यस्ता प्रवृत्ति कुनै हिसाबले उपयुक्त नभएको र हानिकारक भएको बताउनुभएको छ ।

“के यस्ता क्रियाकलापमा सरिक हुनेलाई इतिहासले माफी गर्ला ?, सोचौंँ, भोलि हामी जनतालाई के जवाफ दिन्छौँ ? तसर्थ यस्तो अपराध कर्ममा जानी नजानी कुनै पनि हिसाबले संलग्न नहुन म पार्टी अध्यक्षको हैसियतले सबैलाई हार्दिक आह्वान र आग्रह गर्दछु”, वक्तव्यमा भनिएको छ, “यो पार्टी हामीले बनाएको हाम्रो पार्टी हो, यस पार्टीका इमान्दार नेताकार्यकर्ता पार्टीलाई हानि पुग्ने र आन्दोलनलाई क्षति पुर्याउने कुनै पनि क्रियाकलापमा संलग्न हुँदैैनन् भन्नेमा म विश्वस्त छु ।”

“नेकपा (एमाले) राष्ट्रिय राजनीतिको मूल प्रवृत्ति र प्रवाह बनेको छ”,वक्तव्यमा भनिएको छ, “जनताको आशा भरोसा र विश्वासको केन्द्रको पार्टी नेकपा (एमाले) लाई अझ सुदृढ र एकताबद्ध बनाउँदै अगाडि बढाउनुपर्ने प्रमुख दायित्व आजको पुस्ताको हो ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका