Line Khabar
मङ्लबार, भदौ ३१, २०८२ | September 16, 2025
  • होमपेज
  • कोभिड–१९ सङ्क्रमणबाट आज एकै दिन २२५ जनाको ज्यान गयो

कोभिड–१९ सङ्क्रमणबाट आज एकै दिन २२५ जनाको ज्यान गयो

कोभिड–१९ सङ्क्रमणबाट आज एकै दिन २२५ जनाको ज्यान गयो

काठमाडौँ, २८ वैशाख (०७८) । आज देशभरि कोभिड–१९ का नौ हजार ४ सय ८३ सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा २० हजार ५ सय ९६ पिसिआर र ७ सय २० एन्टिजेन परीक्षणमा नौ हजार ४ सय ८३ सङ्क्रमित पुष्टि भएको हो । आज पुष्टि भएकासँगै नेपालमा सङ्क्रमितको सङ्ख्या चार लाख १३ हजार १ सय ११ पुगेको छ ।

त्यस्तै आज पाँच हजार २ सय २५ जनाले कोभिड–१९ सङ्क्रमणलाई जितेका छन् । कूल सङ्क्रमित मध्ये अहिलेसम्म तीन लाख १२ हजार १९ जना निको भएका छन् । नेपालमा निको हुने दर ७५ दशमलव ५ प्रतिशत छ ।

कोभिड सङ्क्रमणबाट आज मात्र २ सय २५ जनाको निधन भएको छ । यो सङ्ख्या एकै दिन निधन भएका सङ्क्रमित सङ्ख्यामध्ये सबैभन्दा बढी हो । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको तथ्याङ्कमा नेपाली सेनाले शव व्यवस्थापन गरेका आधारमा आज निधन हुनेको संख्या त्यति पुगेको हो ।

नेपालमा अहिलेसम्म चार हजार ८४ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । त्यस्तै, पाँच सयभन्दा भन्दा बढी सङ्क्रमण भएका जिल्ला ३० पुगेका छन् । तिनमा मोरङ, सुनसरी, झापा, रौतहट, धनुषा, पर्सा, बारा,महोत्तरी, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, नुवाकोट, कास्की, गोरखा, नवलपरासी –बर्दघाट सुस्तापूर्व०, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, नवलपरासी (बर्दघाट सुस्तापश्चिम), सुर्खेत, कैलाली, कञ्चनपुर र बैतडी छन् ।

सङ्क्रमितमध्ये एक हजार ८४ सघन उपचार कक्ष र २ सय ९० जनाले भेन्टिलेटरमा उपचार गराइरहेका छन् । प्रदेश नंं १ मा १ सय २७, प्रदेश नं २ मा ६०, वाग्मती प्रदेशमा ५ सय २९, गण्डकीमा ८२, लुम्बिनीमा १ सय ६०, कर्णालीमा १ सय २ र सुदूररपश्चिममा २४ जना आइसियुमा छन् । त्यस्तै प्रदेश नंं १ मा २९, प्रदेश नं २ मा ३७, वाग्मतीमा १ सय ८४, गण्डकीमा ११, लुम्बिनीमा १३, कर्णालीमा आठ र सुदूररपश्चिममा आठ जना भेन्टिलेटरमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका