काठमाडौँ, १ जेठ (०७८) । धनगढी एफसीलाई पराजित गर्दै काठमाडौंँ रेजर्स एफसी पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलको च्याम्पियन बनेको छ । धनगढीलाई शुण्यका विरुद्ध एक गोलले हराउँदै काठमाडौंँ एनएसएलको पहिलो उपाधि चुम्न सफल भएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौंँका लागि विदेशी मेसौके ओलोमोउले निर्णायक गोल गर्नुभएको हो । उहाँले खेलको २१ औँ […]
"/>काठमाडौँ, १ जेठ (०७८) । धनगढी एफसीलाई पराजित गर्दै काठमाडौंँ रेजर्स एफसी पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलको च्याम्पियन बनेको छ । धनगढीलाई शुण्यका विरुद्ध एक गोलले हराउँदै काठमाडौंँ एनएसएलको पहिलो उपाधि चुम्न सफल भएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौंँका लागि विदेशी मेसौके ओलोमोउले निर्णायक गोल गर्नुभएको हो । उहाँले खेलको २१ औँ मिनेटमा सो गोल गर्नुभएको थियो । ओलोमोउ नै लिगमा कुल आठ गोल गर्दै प्रतियोगिताको सर्वाधिक गोलकर्तासमेत बन्नुभयो । उपाधिसँगै काठमाडौँले ३५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । उपविजेता धनगढीले १५ लाख रुपैयाँमा चित्त बुझाउनुपर्यो ।
खेलको २९ औँ मिनेटमा ओलोमोउको फ्रिकिक प्रहार गोलपोष्ट नजिकैबाट बाहिरिएको थियो । खेलको ३० औँ मिनेटमा छिरिङ गुरुङले अवसर पाए पनि गोल गर्नबाट चुक्नुभयो । पहिलो हाफको इन्जुरी समयमा पनि काठमाडौंका ओलोमोउले प्रहार गरेको बल गोलमा परिणत हुन सकेन ।
मध्यान्तरपछि खेलको ५५ औंँ मिनेटमा धनगढीका अशोक खवासको प्रहारलाई काठमाडौँका गोलकिपर विकेश कुथुले जोगाउनुभयो । खेलको ६५ औंँ मिनेटमा काठमाडौँका स्टेफेन बिनोङले हानेको बललाई धनगढीका गोलकिपर किरण चेम्जोङले गोल हुनबाट रोक्नुभयो । यस्तै खेलको ७५ औंँ मिनेटमा काठमाडौंँका ओलोमोउको लामो प्रहार खेर गयो । खेलको ८२ औँ मिनेटमा धनगढीका टंक बस्नेत गोल गर्नबाट चुक्नुभयो । खेलको ९० औंँ मिनेटमा काठमाडौंका बिनोङले हानेको बल गोलमा परिणत हुन सकेन ।
काठमाडौंँले धनगढीसँग लिग चरण र प्लेअफमा ब्यहोरेको हारको बदला आजको फाइनल खेलमा लिएको थियो । फाइनल खेलको उदीयमान खेलाडी काठमाडौंँका राजन गुरुङ घोषित हुनुभयो । यस्तै काठमाडौंँकै फ्लोरेन्ट कोरा प्लेयर अफ दि म्याच घोषित हुनुभयो । दुवै जनाले जनही २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नुभयो ।
नेपाल स्पोर्टस एन्ड इभेन्ट्स म्यानेजमेन्टले आयोजना गरेको प्रतियोगितामा सात फ्रेन्चाइज टोलीले भाग लिएका थिए । कोभिड –१९ का कारण प्रतियोगितामा दर्शकलाई रंगशालामा उपस्थित भएर प्रत्यक्ष रुपमा खेलको अवलोकन गर्न अनुमति दिइएको थिएन । यही वैशाख ११ गतेदेखि शुरु भएको प्रतियोगितामा काठमाडौँ र धनगढीसहित एफसी चितवन, विराटनगर सिटी एफसी, ललितपुर सिटी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा भएको थियो । राउण्ड रोबिन लिगपछि शीर्ष चार टोलीले प्ले अफ खेल्दै फाइनलसम्म स्थान बनाएका थिए ।