लमजुङ, ५ जेठ (०७८) । लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ भुलभुले केन्द्रविन्दु बनाएर आज बिहान पाँच दशमलव आठ रेक्टरको भूकम्प गएको छ । भूकम्पले घर भत्किँदा र भागदौडको क्रममा विभिन्न स्थानका ६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीका अनुसार ३ जना घरको पर्खाल खसेर र ३ जना भागदौडका क्रममा घाइते भएका […]
"/> लमजुङ केन्द्रविन्दु भएर ५.८ रेक्टरको भूकम्प, ६ घाइते, दुई दर्जनभन्दा बढी घरमा क्षति - Line Khabar
Line Khabar
शुक्रबार, भदौ २८, २०८१ | September 13, 2024
  • होमपेज
  • लमजुङ केन्द्रविन्दु भएर ५.८ रेक्टरको भूकम्प, ६ घाइते, दुई दर्जनभन्दा बढी घरमा क्षति

लमजुङ केन्द्रविन्दु भएर ५.८ रेक्टरको भूकम्प, ६ घाइते, दुई दर्जनभन्दा बढी घरमा क्षति

लमजुङ केन्द्रविन्दु भएर ५.८ रेक्टरको भूकम्प, ६ घाइते, दुई दर्जनभन्दा बढी घरमा क्षति
लमजुङमा आज विहान गएको भूकम्पले क्षति भएको घर । तस्विर : रासस

लमजुङ, ५ जेठ (०७८) । लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ भुलभुले केन्द्रविन्दु बनाएर आज बिहान पाँच दशमलव आठ रेक्टरको भूकम्प गएको छ । भूकम्पले घर भत्किँदा र भागदौडको क्रममा विभिन्न स्थानका ६ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीका अनुसार ३ जना घरको पर्खाल खसेर र ३ जना भागदौडका क्रममा घाइते भएका हुन् । मर्स्याङ्दी गाउँपालिका–५ घेर्मु घर भई हाल बेंसीसहर नगरपालिका–६ चनौटे बस्दै आएकी ४० वर्षीया उमा गुरुङ, बेंसीसहर ११, रामचोकबेंसीकी ८३ वर्षीया खवकुमारी पाण्डे र दोर्दी गाउँपालिका–७, लप्सीबोटकी ८३ वर्षीया मंगलीमाया तामाङ घर भत्किँदा घाइते भएका छन् ।

प्रहरी निरीक्षक रेग्मीकाअनुसार मर्स्याङ्दी गाउँपालिका–६, ठूलीबेसीका २२ वर्षीय गोविन्द अधिकारी, बेंसीसहर नगरपालिका ८, ओख्लेफाँटकी २९ वर्षीया खुसीमाया गुरुङ र बेंसीसहर–८ सेराकी ६० वर्षीया सुमित्रादेवी श्रेष्ठ भागदौडका क्रममा घाइते भएका छन् । घाइतेमध्ये दोर्दीका तामाङबाहेक सबैको जिल्ला अस्पताल लमजुङमा उपचार भइरहेको र सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । तामाङको भने स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । प्रहरीकाअनुसार हालसम्म २७ वटा घरमा क्षति पुगेको विवरण आएको छ ।

घाइतेहरुको टाउको, हातखुट्टालगायतका शरीरमा चोट लागेको प्रहरी निरीक्षक रेग्मीले बताउनुभयो । घाइतेमध्ये उमा गुरुङको घरमै सुतिरहेको अवस्थामा भूकम्प जाँदा घर भत्किएर शरीरको आधा भाग नै पुरिएको थियो । त्यसपश्चात् स्थानीयवासीले उद्धार गरेर एम्बुलेन्समार्फत जिल्ला अस्पताल पुर्याएका थिए ।

उमासहित उहाँकी छोरी श्रृती गुरुङ पनि सोही स्थानमा सुतिरहे पनि उनी भने मर्निङवाक जाने भनेर हिँडेको एक मिनेटमै भूकम्प गएको थियो । श्रृतीले भन्नुभयो, “घरमा ममी र म मात्र थियौँ, बाबा कामको सिलसिलामा मनाङमा हुनुहुन्छ, अब घर भत्कियो कता कसरी बस्ने भइहेको छ ।”

प्रहरी निरीक्षक रेग्मीका अनुसार भूकम्पले घाइतेहरुको घरसहित बेँसीशहर–१ का शम्शेर परियार, वडा नं ३ रानीकुवाका दीपक बराल, नवीन बराल, गोरे क्षेत्री, वडा नं ६ मकैडाँडाका लक्ष्मी अधिकारी, तुलबहादुर अधिकारी, टेकबहादुर अधिकारी, मस्र्याङ्दी–३ तरापुका बासुदेव खत्रीको घरमा क्षति पुगेको छ । त्यस्तै मध्यनेपाल नगरपालिका–७ का तीर्थराज घिमिरे, बेँसीशहर–६ कै धीरबहादुर रिमाल, बुद्धिबहादुर रिमालको घरमा क्षति पुगेको छ । यी अधिकांश घरहरु ढुङ्गामाटा र जस्तापाताको छानोबाट बनेको प्रहरीले जनाएको छ । अन्य विस्तृत जानकारी प्राप्त हुन बाँकी रहेको प्रहरीको भनाइ छ ।

लमजुङसहित छिमेकी जिल्ला मनाङ, कास्की, गोरखा, चितवनलगायतका जिल्लामा समेत भूकम्पको धक्का महशुस भएको थियो । लमजुङमा भने अझै पटकपटक भूकम्पको पराकम्पन जाने क्रम जारी रहेको छ । भुलभुले आसपास नै केन्द्रविन्दु बनाएर बिहान ८ बजेर २६ मिनेटमा ५.३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसरी पटकपटक भूकम्पको धक्का गइरहेकाले यहाँका स्थानीयवासी घरबाहिर सडक र खुला ठाउँमा निस्किएर बसेका छन् । कोरोना सङ्क्रमणका बेला मानिसहरूको मास्कबिना भीडभाड देखिन्छ । यसले गर्दा सङ्क्रमणको जोखिमसमेत बढेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका