काठमाडौँ, २१ जेठ (०७८) । चाइनिज ताइपेईविरुद्धको खेलमा नेपाल विजयी भएको छ । कुवेतको जाबेर अल अहमद मैदानमा बिहीबार राति भएको खेलमा नेपालले चाइनिज ताइपेईलाई २–० गोलअन्तरले पराजित गरेको हो । सन् २०२२ मा कतारमा हुने विश्वकप तथा २०२३ मा चीनमा हुने एसिया कपको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको छनोट खेलमा नेपालले ताइपेईविरुद्धको खेलमा उत्कृष्ट खेल […]
"/> नेपालद्वारा चाइनिज ताइपेई दुई–शुन्यले पराजित - Line Khabar
Line Khabar
बिहिबार, भदौ २७, २०८१ | September 12, 2024
  • होमपेज
  • नेपालद्वारा चाइनिज ताइपेई दुई–शुन्यले पराजित
विश्वकप फुटबल छनोट

नेपालद्वारा चाइनिज ताइपेई दुई–शुन्यले पराजित

नेपालद्वारा चाइनिज ताइपेई दुई–शुन्यले पराजित

काठमाडौँ, २१ जेठ (०७८) । चाइनिज ताइपेईविरुद्धको खेलमा नेपाल विजयी भएको छ । कुवेतको जाबेर अल अहमद मैदानमा बिहीबार राति भएको खेलमा नेपालले चाइनिज ताइपेईलाई २–० गोलअन्तरले पराजित गरेको हो ।

सन् २०२२ मा कतारमा हुने विश्वकप तथा २०२३ मा चीनमा हुने एसिया कपको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको छनोट खेलमा नेपालले ताइपेईविरुद्धको खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेको थियो । नेपालका लागि अन्जन विष्ट र नवयुग श्रेष्ठले गोल गर्नुभएको हो । खेलको चौथो मिनेटमा नै विष्टले पेनाल्टीमार्फत गोल गर्नुभएको हो । सन्तोष तामाङले प्रहार गरेको फ्रिकिक ताइपेईका चेङ हाओको हातमा लागेपछि नेपालले पेनाल्टीको अवसर पाएको हो । विष्टले पेनाल्टीको अवसर सहजै उपयोग गर्नुभयो ।

खेलको ११औँ मिनेटमा ताइपेईका खेलाडी वु चुन चिङको प्रहार नेपाली गोलरक्षक किरण चेम्जोङले रोक्नुभयो । यस्तै खेलको १६औँ मिनेटमा सुनिल बलको गोल गर्ने प्रयास सफल हुन सकेन् । खेलको २४औँ मिनेटमा अन्जन विष्टले गोलको प्रयास गर्नुभएको थियो तर उहाँ चुक्नुभयो । मध्यान्तरअघिको खेलसम्म ताइपेईले नेपालसामु निकै दबाबमा खेल्यो । सो अवधिभर नेपाली टोली ताइपेईमाथि हावी रहन पुग्यो । नेपाली खेलाडीहरूले बराबरी गोल गर्ने कुनै अवसर ताइपेईका खेलाडीलाई दिनुभएन ।

मध्यान्तरपछिको खेलमा ताइपेईले आक्रामक खेल्यो । पटक पटक गोलको प्रयासहरू भए पनि ताइपेई सफल भने हुन सकेन । यसबीचमा खेलको ५४औँ मिनेटमा सन्तोष तामाङको प्रयास पनि सफल हुन सकेन । यस्तै खेलको ७०औँ मिनेटमा ताइपेईले कर्नरकिकको मौका पाए पनि त्यसको नेपाली खेलाडीले बचाउ गरेका थिए । खेलको ८०औँ मिनेटमा मनिष डाँगी गोल गर्नबाट असफल हुनुभए पनि ८१औँ मिनेटमा भने नवयुग श्रेष्ठले उत्कृष्ट गोल गर्नुभयो । योसँगै नेपालले ताइपेईविरुद्ध २–० गोलको अग्रता लियो । त्यसपछिको खेलमा ताइपेई केही आक्रामक खेल्न पुग्यो । उसको तर्फबाट पटकपटक गोलको प्रयास भए पनि सफल भने हुन सकेन ।

जितसँगै नेपालले ६ अंक जोडेको छ । नेपाल समूह बीको चौथो स्थानमा छ । ताइपेई हालसम्म अङ्कबिहीन छ । यसअघि पनि नेपालले ताइपेईलाई नै पराजित गर्दै तीन अङ्क जोडेको थियो । फिफा बरियतामा ताइपेई १४१औँ स्थानमा छ भने नेपाल १७१औँ स्थानमा छ । दुवै देशका खेलाडीले कुवेतको गर्मीलाई मुख्य चुनौतीका रूपमा लिएका थिए । बिहीबार राति खेल हुँदाका बखतको अधिकतम तापक्रम ३९ डिग्री सेन्टिग्रेट थियो । समूह बी मा १२ अङ्कका साथ अस्ट्रेलिया शीर्ष स्थानमा छ । दोस्रो स्थानमा १० अङ्कसहित कुवेत छ भने १० अङ्ककै साथ जोर्डन तेस्रो स्थानमा छ ।

इराकसितको मैत्रीपूर्ण खेल खेलेर नेपाली टोली त्यहाँबाट कुवेत प्रस्थान गरेको हो । नेपालले दोस्रो खेल जेठ २४ गते जोर्डनसित तथा तेस्रो खेल जेठ २८ गते अष्ट्रेलियासँग खेल्ने कार्यक्रम रहेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । नेपाली टोलीको प्रशिक्षकमा अब्दुल्लाह अल्मुताइरी रहनुभएको छ ।

नेपाली टोलीको गोलरक्षकमा किरण चेम्जोङ, विशाल सुनार र दीप कार्की, डिफेन्डरमा रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल र विकास खवास, मिडफिल्डरमा विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरज जिउ ठकुरी, पुजन उपरकोटी र आयुष घलान तथा फरवार्डमा अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ र आशिष लामा रहनुभएको छ । यसअघि नेपाल गत साता मैत्रीपूर्ण खेलमा इराकसित ६–२ गोलअन्तरले पराजित भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका