Line Khabar
मङ्लबार, भदौ ३१, २०८२ | September 16, 2025
  • होमपेज
  • खेलाडी भन्छन् : अलमुताइरीका कारण बन्द प्रशिक्षणबाट निस्कन बाध्य भयौँ

खेलाडी भन्छन् : अलमुताइरीका कारण बन्द प्रशिक्षणबाट निस्कन बाध्य भयौँ

  • Krishna Giri
  • बिहिबार, बैशाख १५, २०७९
खेलाडी भन्छन् : अलमुताइरीका कारण बन्द प्रशिक्षणबाट निस्कन बाध्य भयौँ
अब्दुल्लाह अलमुताइरी

काठमाडौँ, १५ वैशाख ०७९ । राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बन्द प्रशिक्षण छाडेर जान भनेपछि आफूहरु प्रशिक्षण छाड्न बाध्य भएको बन्द प्रशिक्षणबाट विद्रोह गरेका खेलाडीहरुले बताउनुभएको छ ।

विद्रोह गरेका खेलाडीहरुले बुधबार पत्रकार सम्मेलन गर्दै प्रशिक्षक अलमुताइरीले पटक पटक क्याम्प छाडेर जान भनेपछि आफूहरु बाध्य भएर प्रशिक्षण छाडेको खेलाडीहरुले बताउनुभएको हो ।

एएफसी एसियन कप छनोट २०२३ को छनोट चरणको तयारीमा रहेको फुटबल टोलीका १० सिनियर खेलाडीले प्रशिक्षक अलमुताइरीको व्यवहारप्रति असन्तुष्टि जनाउँदै मङ्गलबार प्रशिक्षण क्याम्प छाड्नुभएको थियो ।

राष्ट्रिय टोलीका कप्तान किरण चेम्जोङको अनुपस्थितिमा टोलीको नेतृत्व सम्हालिरहनुभएका मिडफिल्डर रोहित चन्दलाई क्याम्प छोड्न भनेपछि असन्तुष्ट सिनियर खेलाडीले प्रशिक्षक अलमुताइरी प्रशिक्षकसँग त्यसबारे छलफल गर्नुभएको थियो । छलफलपछि प्रशिक्षकले अन्य खेलाडीलाई पनि क्याम्प छोड्न भनेपछि खेलाडीले क्याम्प छोड्नुभएको हो ।

अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०को सातदोबाटोस्थित होस्टलमा बस्न धेरै नै समस्या रहेको भन्दै आफूहरुलाई होटलमा बस्ने व्यवस्था मिलाउन आग्रह गर्दा प्रशिक्षकले रोहित चन्दलाई निकालेको खेलाडीले बताउनुभयो ।

“सो विषयमा कुरा गर्न खोज्दा प्रशिक्षकले आफूहरुलाई पनि प्रशिक्षण छाडेर जाऊ भन्नुभयो”, खेलाडी अनन्त तामाङले भन्नुभयो, “अब यही प्रशिक्षकले प्रशिक्षणमा बोलाए हामीलाई गाह्रो हुन्छ ।”

त्यस्तै रोहित चन्दले आफूहरुले प्रशिक्षक हटाउनुपर्छ नभनेको तर प्रशिक्षक अलमुताइरीको नेतृत्वमा खेल्न गाह्रो हुने बताउनुभयो । “उहाँले प्रशिक्षक अलमुताइरी आएपछि टिममा परिवर्तन धेरै भएको बताउनुभयो । पहिलेको तुलनामा हामीले खेलहरु पनि धेरै खेल्न पाइरहेका थियौँ । तर हामीलाई उहाँसँग व्यक्तिगतरूपमा समस्या छ”, उहाँले भन्नुभयो ।

त्यस्तै विशाल राईले रोहित चन्दलाई टिममा राख्नुपर्छ भनेर आफूहरुले होटल छाडेका होइन भन्दै खेलाडीको सुविधाको विषयमा कुरा उठाएकाले आफूहरु पनि त्यसमा सहभागी भएको बताउनुभयो ।

त्यस्तै खेलाडीहरुले राष्ट्रका लागि खेल्नु आफ्नो दायित्व रहेको र त्यसमा नपन्छिनेसमेत बताउनुभएको छ । “हामी खेलाडी राष्ट्रका लागि खेल्नु हाम्रो दायित्व हो यसबाट हामी कदापि पन्छिने छैनौँ तर जुन किसिमको व्यवहार प्रशिक्षक अलमुताइरी र टोलीबाट भयो, यसमा हामी दुःखी छौँ,” खेलाडीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका