राजेन्द्र भट्ट महेन्द्रनगर, १२ साउन ०७९। सुदूरपश्चिमको साँगीतिक पहिचान देउडाले नै बोकेको छ। देउडाका भाका गुन्जिँदा हुरुक्क हुनेको यहाँ कमी छैन्। त्यसमा पनि ठाडी भाखाका देउडा मनपराउने जमात अझैपनि छ। देउडाको मौलिक ठाडी भाखाबाटै चर्चाको शिखरमा पुगेका लोकप्रिय देउडा गायक हरिशचन्द्र कडायत बुधबार सदाका लागि अस्ताउनु भएको छ। देउडा गायक हरिशचन्द्रले देहलीला त्याग गरेपछि सुदूरपश्चिममा ठाडी […]
"/> भाँचियो ठाडी भाखाको मेरुदण्ड - Line Khabar
Line Khabar
शुक्रबार, भदौ २८, २०८१ | September 13, 2024
  • होमपेज
  • भाँचियो ठाडी भाखाको मेरुदण्ड

भाँचियो ठाडी भाखाको मेरुदण्ड

लोकप्रिय देउडा गायक हरिशचन्द्र कडायतको निधन

भाँचियो ठाडी भाखाको मेरुदण्ड

राजेन्द्र भट्ट

महेन्द्रनगर, १२ साउन ०७९। सुदूरपश्चिमको साँगीतिक पहिचान देउडाले नै बोकेको छ। देउडाका भाका गुन्जिँदा हुरुक्क हुनेको यहाँ कमी छैन्। त्यसमा पनि ठाडी भाखाका देउडा मनपराउने जमात अझैपनि छ। देउडाको मौलिक ठाडी भाखाबाटै चर्चाको शिखरमा पुगेका लोकप्रिय देउडा गायक हरिशचन्द्र कडायत बुधबार सदाका लागि अस्ताउनु भएको छ। देउडा गायक हरिशचन्द्रले देहलीला त्याग गरेपछि सुदूरपश्चिममा ठाडी भाखाको मेरुदण्डनै भाँचिएको छ।

‘कर्णालीका भेल, कालीको लड्कन्या माछो कर्णालीका भेल…।’ देउडा गायक हरिशचन्द्रको नाम लिनेबित्तिकै सबैले सम्झने चर्चित गीतहरू मध्ये एक हो यो। देउडा प्रस्तुतीमा ठेट शैलीका धनी हरिशचन्द्रको निधनको खबरले सुदूरपश्चिमको साँगीतिक क्षेत्रमा स्तब्धता छाएको छ। ठाडी भाखाका औँलामा गन्न सकिने देउडा गायकमध्ये हरिशचन्द्र एक हुनुहुन्थ्यो।

विकटमा जन्मिएको अविस्मरणीय स्वर

हरिशचन्द्र सुदूरपश्चिमको विकट पहाडी जिल्ला बझाङको छबिसपाथिभेरा गाउँपालिका– २ मुम्ला (तत्कालीन कणेल गाउँविकास समिति) मा जन्मिनु भएका थिए। उहाँका बुबा लालबहादुर र आमा डल्लीदेविका सात सन्तानमध्ये एक हरिशचन्द्रको जन्म वि.सं. २०२६ सालमा  भएको हो। उहाँका चार दाजु र दुई बहिनी छन्। अहिले कैलाली जिल्लाको गौरीगंगा नगरपालिका–६ वनबेहडामा स्थायी बसोबास भएका हरिशचन्द्रका श्रीमती, तीन छोरा एक छोरी छन्।

ठाडी भाखाका खम्बाः सर्जक

हरिशचन्द्र सुदूरपश्चिमको देउडामा ठाडी भाखाका खम्बा भएको यहाँका सर्जकहरूको भनाई छ।  उहाँको निधनबाट देउडा सर्जकले एक अभिभावक गुमाएको संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ तथा वरिष्ठ देउडा गायक नरेन्द्रराज रेग्मी बताउनु हुन्छ। ‘ठाडी भाखामा हरिशचन्द्र भाइको बेग्लै छाप र पहिचान कमाएका हुन।’ काठमाडौँको रीमा रेकर्डिङ स्टुडियोमा पहिलो पटक हरिशचन्द्रसँगको देउडा गीत रेकर्डिङ गर्दाको स्मरण सुनाउनु हुँदै प्राज्ञ तथा वरिष्ठ देउडा गायक रेग्मीले भन्नुभयो, ‘ठाडी भाखामा त उहाँ राजा नै हो। देउडामा उहाँको योगदान अतुलनीय रहनेछ।’

हरिशचन्द्र जस्तो शैली ठाडी भाखा अरु कसैको नभएको जिकिर गर्नुहुँदै उहाँले भन्नुभयो, ‘ठाडी भाखाका नगन्य दुई चार जनामध्ये आफ्नो बेग्लै पहिचान बोकेका हरिशचन्द्रलाई यति चाँडो गुमाउनु दुर्भाग्य हो।’ अहिले भुवन दाहाल, राजाराम भाट लगायत केही देउडा गायक यस विधामा परिचित नाम भएको उहाँ बताउनु हुन्छ।

अढाई दशक लामो देउडा छाएका वरिष्ठ लोक देउडा गायक हरिशचन्द्रको निधनको खबरले स्तब्ध बनाएको छ। ‘देउडाको मौलिक ठाडी भाकाको मेरुदण्ड नै भाँच्चियो। उहाँ अब हामीमाझ रहनु भएन भन्ने विश्वासै गर्न गाह्रो भइरहेको छ।’ बुधबार बिहान देउडा गायक हरिशचन्द्रको निधनको खबर सुनेपछि पत्याउनै गाह्रो भएको अहिलेका लोकप्रिय देउडा गायक लालबहादुर धामी बताउनुहुन्छ।

‘मौलिक ठाडी भाकामा देउडा गाउने हरिशचन्द्र दाइ बराबर कोही भएन।’ देउडा गायक धामीले विगत स्मरण गर्दै भन्नुभयो, ‘उहाँका देउडामा ठाडी भाकामा ठेट सुदूरपश्चिमेली मौलिकपन झल्किन्छ।’ देउडामा सुदूरपश्चिमको मौलिकपना आउनु पर्छ भनी नयाँ पुस्ताका देउडा गायकलाई हरिशचन्द्रले सधैँ सुझाव दिने गरेको सम्झदैँ देउडा गायक धामीले भन्नुभयो, ‘सुदूरपश्चिमका कलाकारले देउडाको ठाडी भाकाका अभिभावक गुमाएका छौं। उनी म लगायतका नयाँ पुस्ताका लागि प्रेरणा हुन। देउडा अरु पनि गाउँछन् तर, हरिश दाइको शैली अविस्मरणीय छ।’

सधैका लागि अस्ताए

करिब ५५ वर्षीय उहाँको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मस्तिष्कघातका कारण निधन भएको हो। करिब एकसातादेखि उपचारार्थ अस्पताल भर्ना हुनुभएको थियो। घरमै रहेका बखत एक्कासि स्वास्थ्य अवस्था बिग्रिएपछि परिवारले उहाँलाई यसअघि नवजीवन हस्पिटल भर्ना गरेका थिए। त्यसको दुईदिन पछि प्रादेशिक अस्पताल लगिएको उहाँका मित्र बताउँछन्।

अढाई दशकभन्दा अघिदेखि उहाँ गायनमा सक्रिय हुनुहुन्थ्यो। देउडा गायक हरिशचन्द्रसँगै भोजराज भट्ट, अन्तराम बिष्ट, यज्ञराज उपाध्याय सुदूरपश्चिमका पुराना चर्चित गायकमा पर्छन्। हरिशचन्द्रले दुईसय भन्दाबढी गीतमा आफ्नो स्वर दिनुभएको छ। जसमा ‘कर्णालीका भेल’, ‘यो बझाङ्गी काल्या’, ‘ल बिणी खान्याकी’ बढी चर्चित छन्।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका