काठमाडौँ, ३ असोज ०७९ । पत्रकारिता हुँदै लेखन र राजनीतिमा सक्रिय रहनुभएका रवीन्द्र मिश्रको नयाँ पुस्तक ‘विचारभन्दा माथि देश’ लोकार्पण भएको छ । पुस्तक लोकार्पण गर्न प्रकाशक संस्था फाइन प्रिन्टले आज आयोजना गरेको कार्यक्रममा सबैभन्दा पहिले पुग्ने १० जना व्यक्तिसँगै पूर्व उपप्रधानमन्त्री एवं वामपन्थी नेता सीपी मैनाली, पूर्वमन्त्री एवं जलस्रोतविद् दीपक ज्ञवालीलगायते पुस्तक लोकार्पण गर्नुभएको […]
"/> रवीन्द्र मिश्रको ‘विचारभन्दा माथि देश’ सार्वजनिक - Line Khabar
Line Khabar
बुधबार, साउन ९, २०८१ | July 24, 2024
  • होमपेज
  • रवीन्द्र मिश्रको ‘विचारभन्दा माथि देश’ सार्वजनिक

रवीन्द्र मिश्रको ‘विचारभन्दा माथि देश’ सार्वजनिक

रवीन्द्र मिश्रको ‘विचारभन्दा माथि देश’ सार्वजनिक

काठमाडौँ, ३ असोज ०७९ । पत्रकारिता हुँदै लेखन र राजनीतिमा सक्रिय रहनुभएका रवीन्द्र मिश्रको नयाँ पुस्तक ‘विचारभन्दा माथि देश’ लोकार्पण भएको छ ।

पुस्तक लोकार्पण गर्न प्रकाशक संस्था फाइन प्रिन्टले आज आयोजना गरेको कार्यक्रममा सबैभन्दा पहिले पुग्ने १० जना व्यक्तिसँगै पूर्व उपप्रधानमन्त्री एवं वामपन्थी नेता सीपी मैनाली, पूर्वमन्त्री एवं जलस्रोतविद् दीपक ज्ञवालीलगायते पुस्तक लोकार्पण गर्नुभएको हो । एक सय ९१ पृष्ठको पुस्तकको बिक्रीबाट आउने आम्दानी राजनीतिक सुधार अभियानमा लगाइने जनाइएको छ ।

कार्यक्रममा मिश्रले संवैधानिक राजसंस्था, सङ्घीयता खारेजी, हिन्दू–बौद्ध राष्ट्र, कल्याणकारी (सामाजिक) लोकतन्त्रका विषय पुस्तकमा उल्लेख गरिएको जानकारी गराउनुभयो ।

“पृथ्वीनारायण शाहको दिव्योपदेश र विपी कोइरालाको राष्ट्रिय एकता र मेलमिलापको नीतिलाई समायोजित रुपमा अङ्गीकार गर्नुको विकल्प छैन, दुवै नेताले देशलाई शिरमा राखेरमात्र बाँकी निर्णय लिए”, पुस्तकमा लेखक मिश्रले भन्नुभएको छ ।

आफू व्यक्तिगत रुपमा धर्मका विषयमा निरपेक्ष रहे पनि धर्मान्तरणका घटना बढिरहेकाले हिन्दू–बौद्ध राष्ट्रको मुद्दा आवश्यक रहेको उहाँको भनाइ थियो । धर्म निरपेक्षताकै आडमा धादिङको रुवीभ्यालीका ७० प्रतिशत तामाङ समुदायलाई धर्मान्तरण गरिएको उहाँले सुनाउनुभयो ।

पूर्व उपप्रधानमन्त्री एवं नेकपा (माले)का महासचिव मैनालीले मिश्रको पुस्तकले प्रजातान्त्रिक आन्दोलनमा नयाँ विचार दिएको बताउनुभयो । लेखकका अनुभूति पोखिएको पुस्तकले मार्ग परिवर्तनको प्रस्ताव गरेको उहाँले सुनाउनुभयो ।

“विसं २००७, २०४६ र २०६३ का परिवर्तन प्रजातान्त्रिकमात्र नभई अवाञ्छित बाह्य प्रभाव र हस्तक्षेप पनि हो, यो कुरालाई एक दुई नेताले माने पनि दलले संस्थागत रुपमा मानेका छैनन्, तथ्य र वस्तुपरक विश्लेषण भएन, देशमुखी समाधानका लागि मुख्य राजनीतिक शक्ति एक हुनुपर्छ”, नेता मैनालीले भन्नुभयो ।

पूर्व मन्त्री ज्ञवालीले किताबलाई राजनीतिक घोषणापत्रको संज्ञा दिँदै आगामी चुनावमा उम्मेद्वारी घोषणा गरेका साना दललाई पनि चुनौती बनेको बताउनुभयो । सत्ताको नेतृत्व गरेको दल नेपाली कांग्रेसले महाधिवेशन सकेको छ महिनामा नीति महाधिवेशन गर्ने भने पनि नसकेका बेला आएको राजनीतिक विचारप्रधान पुस्तकको महत्व हुने उहाँको विचार थियो ।

“धर्म निरपेक्षता घोषणा गरेपछि हामीले गरेको सन् २००४ को सर्वेक्षणमा ६० प्रतिशत जनताले हिन्दू राष्ट्रको पक्षमा मत प्रकट गरेका थिए, संविधान जारी गर्ने बेला सन् २०१५ तिर ७४ प्रतिशतले हिन्दू राष्ट्रको पक्षमा मत प्रकट गरे पनि संविधानमा सम्बोधन भएन, शपथमा ईश्वरको नाम नलिएपछि नैतिकताको जग के हो ? अमेरिका र बेलायतका शासकले ईश्वरका नाममा आफ्ना धर्मग्रन्थलाई छोएर शपथ लिने, हाम्रा नेताले हाम्रो धर्मग्रन्थ बिर्सँदा नैतिकताको सङ्कट भएको हो”, पूर्वमन्त्री ज्ञवालीले भन्नुभयो ।

कार्यक्रममा पत्रकार रमा सिंह, प्रकाशक संस्था फाइन प्रिन्टका संस्थापक नीरज भाइलगायतले मिश्रको पुस्तकको विशेषताका बारेमा प्रकाश पार्नुभएको थियो । पुस्तकको मूल्य रु ४५० तोकिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका