रमेश केसी बझाङ, १९ वैशाख (०७८) । कोरोना महामारीबीच यार्सा सङ्कलन गर्न लेकतिर जानेको घुइँचो लाग्न थालेको छ । साइपाल, तलकोट, सुर्मा, मष्टा, छबीस पाथीभेरा गाउँपालिका र बुङ्गल नगरपालिकाका बासिन्दाको मुख्य आम्दानीको स्रोत यार्सागुम्बा तथा जडिबुटी नै रहेको छ । यार्सा सङ्कलनको याम शुरु भएसँगै अधिकांश स्थानीयवासी लेकतिर जान थालेका हुन् । उत्तरी भेगमा खाद्यान्न […]
"/>रमेश केसी
बझाङ, १९ वैशाख (०७८) । कोरोना महामारीबीच यार्सा सङ्कलन गर्न लेकतिर जानेको घुइँचो लाग्न थालेको छ । साइपाल, तलकोट, सुर्मा, मष्टा, छबीस पाथीभेरा गाउँपालिका र बुङ्गल नगरपालिकाका बासिन्दाको मुख्य आम्दानीको स्रोत यार्सागुम्बा तथा जडिबुटी नै रहेको छ । यार्सा सङ्कलनको याम शुरु भएसँगै अधिकांश स्थानीयवासी लेकतिर जान थालेका हुन् ।
उत्तरी भेगमा खाद्यान्न कम उत्पादन हुने र आय स्रोतका अन्य माध्यम नहुँदा यार्सा र जडीबुटी सङ्कलन नै मुख्य आयस्रोतको आधार रहेको छ । यस क्षेत्रका बासिन्दा परिवारसहित यार्सा सङ्कलनका लागि घरमा ताला लगाएर वैशाखदेखि असार मसान्तसम्म लेकतिर जान्छन् ।
गत वर्ष जिल्ला विपद् व्यवस्थापन समितिले यार्सागुम्बा पाइने पाटनमा सङ्कलकको भीड हुने र कोरोनाको संक्रमण फैलिने खतरा भएपछि जोखिम न्यूनीकरणका लागि सङ्कलनमा रोक लगाएको थियो । स्थानीय तहले पनि यार्सा सङ्कलनमा रोक लगाएको थियो । यस वर्ष भने कुनै सूचना जारी गरिएको छैन । जिल्लामा दिन प्रतिदिन सङ्क्रमित बढ्दै गए पनि कुनै निकायको ध्यान गएको छैन ।
यार्सा सङ्कलन गरिने पाटनमा हिउँ पग्लिन थालेपछि सङ्कलक वन क्षेत्रमा जाने क्रम बढेको बुङ्गल –२ का आनन्द धामीले बताउनुभयो । उहाँले भन्नुभयो, “केही वर्षयता यार्सा खासै पाइँदैन । गत वर्ष कोरोना महामारीका कारण भएको बन्दाबन्दीले सङ्कलनको काम प्रभावित भयो । यार्सा सङ्कलन गर्न नपाउँदा रोजीरोटी खोसियो । यस वर्ष यार्साको उत्पादन राम्रो हुने देखिएपछि लेकतिर जानेको घुइँचो लाग्न थालेको छ ।”
बुङ्गलका धौलाढुङ्गा, चुफी, कालीगाड, छरछरे, जलजला, निलखट्टी, ठाडे सुर्मा तथा साइपाल गाउँपालिकाका जलजला, डाँफेचुली, तपोवन, डाँडा, निलखट्टी, ठाडे, जर्सी, गोलढुङ्गा, माझा, फरालखेत, कालापानी, राइढुङ्गी, स्याङ्वनलगायत वन क्षेत्रमा सङ्कलक पुगिसकेका छन् ।
साइपाल –४ का वसन्त बोहराले भन्नुभयो, “रोजगारी केही छैन । आयआर्जन गर्ने माध्यम नै यार्सागुम्बा र जडिबुटी हो । गत वर्ष लकडाउनका कारण वन क्षेत्र बन्द हुँदा सङ्कलन गर्न सकिएन । घर खर्च चलाउन धौधौ भयो । यार्साबाट मात्रै एक परिवारले तीन महिनाका अवधिमा रु तीन लाखदेखि सात लाख जति आम्दानी गर्छ । यार्सा तथा जडिबुटी सङ्कलन नगरे भोकमरीको चपेटामा परिन्छ ।”
वैशाखदेखि असारसम्म यार्सा सङ्कलनका लागि र भदौदेखि मङ्सिरसम्म यहाँका जंगलमा अन्य जडिबुटी खोज्न मानिस लेकतिर जान्छन् । केही वर्षयता यार्सा तथा अन्य जडीबुटी सङ्कलन गर्न लेकतिर जानेहरु बढ्दै गएका छन् । यस समयमा बझाङ र अन्य जिल्लाबाट आएका मानिसले विभिन्न पाटनमा करीब १५ हजार पाल हाल्छन् । हरेक वर्ष बझाङमा यार्सा सङ्कलनका लागि मात्रै ४८ हजारभन्दा बढी मानिस लेकतिर जाने गर्छन् । ग्रामीण भेगमा कोरोनाको उच्च जोखिम भएकै बेला हजारौँ मानिस लेकतिर जाँदा झन् जोखिम हुने देखिन्छ । जङ्गलमा सबै एकै ठाउँ नहुने र सङ्कलन गर्दा अलगअलग जानु पर्ने भएका कारण कोरोनाको जोखिम भने कम हुने सङ्कलक बताउँछन् ।
कोरोनाको सङ्क्रमणबाट बच्न गत वर्ष पाटन बन्द गरिए पनि सङ्कलकले लुकिछिपी यार्सा सङ्कलन गरेका थिए । गत वर्ष जिल्ला विपद् व्यवस्थापन समितिले वन बन्द गर्न भनेकाले सङ्कलनमा रोक लगाइए पनि यस वर्ष सङ्कलन रोक्ने नरोक्नेबारे कुनै जानकारी नआएको डिभिजन वन कार्यालय बझाङका कार्यालय प्रमुख कर्णबहादुर खातीले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो जिल्लामा अहिले यार्सा सङ्कलन गर्ने सिजन नै हो । विभागबाट कुनै पत्राचार भएको छैन । सरकारले पनि यसबारेमा कुनै निर्णय गरेको छैन । विभागको निर्देशनअनुसार सङ्कलन कार्यमा रोक लगाइने छ ।” रासस