लण्डन, २३ असार ०७९ । संयुक्त अधिराज्य (बेलायत) का प्रधानमन्त्री बोरिस जोनसनले बिहीबार कन्जर्भेटिभ पार्टीको नेताको पदबाट राजीनामा दिनुभएको छ । श्रृंखलाबद्ध विवाद र आफ्नै दलको तर्फबाट मन्त्रीपरिषद्मा रहेका सदस्यहरूद्वारा राजीनामा दिएपछि जोनसनले दलको नेता र प्रधानमन्त्रीको पदबाट राजीनामाको घोषणा गर्नुभएको हो । जोनसनले कन्सर्भेटिभ पार्टी नेताबाट राजीनामा पेश गरेपछि बेलायती विदेश मन्त्री लिज ट्रसले […]
"/> बेलायतका प्रधानमन्त्री जोनसनद्वारा दलको नेता र प्रधानमन्त्री पदबाट राजीनामाको घोषणा - Line Khabar
Line Khabar
बिहिबार, भदौ २७, २०८१ | September 12, 2024
  • होमपेज
  • बेलायतका प्रधानमन्त्री जोनसनद्वारा दलको नेता र प्रधानमन्त्री पदबाट राजीनामाको घोषणा

बेलायतका प्रधानमन्त्री जोनसनद्वारा दलको नेता र प्रधानमन्त्री पदबाट राजीनामाको घोषणा

बेलायतका प्रधानमन्त्री जोनसनद्वारा दलको नेता र प्रधानमन्त्री पदबाट राजीनामाको घोषणा

लण्डन, २३ असार ०७९ । संयुक्त अधिराज्य (बेलायत) का प्रधानमन्त्री बोरिस जोनसनले बिहीबार कन्जर्भेटिभ पार्टीको नेताको पदबाट राजीनामा दिनुभएको छ ।

श्रृंखलाबद्ध विवाद र आफ्नै दलको तर्फबाट मन्त्रीपरिषद्मा रहेका सदस्यहरूद्वारा राजीनामा दिएपछि जोनसनले दलको नेता र प्रधानमन्त्रीको पदबाट राजीनामाको घोषणा गर्नुभएको हो । जोनसनले कन्सर्भेटिभ पार्टी नेताबाट राजीनामा पेश गरेपछि बेलायती विदेश मन्त्री लिज ट्रसले बिहीबार सबैलाई शान्त र एकतावद्ध बनेर अघि बढ्न आह्वान गर्नुभएको छ ।

उहाँले बालीबाट ट्वीट गर्दै भन्नुभयो, “प्रधानमन्त्रीले सही निर्णय गर्नुभएको छ । जोन्सनको नेतृत्वमा रहेको सरकारले ब्रेक्जिट, कोभिड–१९ विरूद्धको खोप विकास र वितरण तथा यूक्रेनलाई समर्थन गर्नेजस्ता धेरै उपलब्धिहरू हाँसिल गरेको छ । हामीलाई अहिले शान्ति र ऐक्यवद्धताको आवश्यकता छ । नयाँ नेता चयन गर्दासम्म उहाँको नेतृत्व कायम रहनेछ ।”

अब कन्जर्भेटिभ पार्टीमा नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ । आगामी अक्टोबरमा टोरी दलको सम्मेलन हुनु अघिसम्म नयाँ प्रधानमन्त्रीको चयन भइसक्नेछ ।

चरणबद्ध रूपमा मन्त्रीहरूले राजीनामा दिएपछि जोनसनलाई राजीनामाका लागि चर्को दबाब सिर्जना भएको थियो ।

यसअघि हिजो बुधवार उहाँले बेलायती संसद्को नियमित प्रश्नोत्तर सत्रमा आफूले सन् २०१९ को निर्वाचनबाट ‘व्यापक जनादेश’ पाएको र त्यो ‘जारी रहने’ बताउनुभएको थियो ।

अर्थमन्त्री ऋषि सुनक र स्वास्थ्यमन्त्री साजिद जाविदको नाटकीय राजीनामापछि जोनसन सङ्कटमा पर्नुभएको थियो । यसै वर्षको सुरुमा क्रिस पिन्चरलाई सहायक प्रमुख सचेतक नियुक्त गर्ने जोनसनको निर्णयका विषयमा विवाद भएपछि उनीहरूले मङ्गलवार केही मिनेटको फरकमा राजीनामा दिएका थिए ।

उनीहरूको राजीनामासँगै राजीनामाको लहर सुरु भएको थियो र बुधवार अन्य कतिपय मन्त्रीहरूले पनि राजीनामा दिनुभएको थियो ।

यसअघि जोनसनप्रति असन्तुष्टि जनाउँदै ५० भन्दा बढी कन्जरभेटिभ सांसदहरूले सरकारमा उनीहरूले निर्वाह गर्दै आएका भूमिकाबाट राजीनामा दिएका थिए ।

यसअघि मंङ्गलवारमात्रै अर्थमन्त्री नियुक्त भएका नदिम जाहावीले पनि पदबाट राजीनामा दिँदै एक पत्र प्रकाशित गरेर प्रधानमन्त्री जोनसनले सरकारलाई अवमूल्यन गरिरहेको र उहाँ पदबाट हट्नुपर्ने बताउनुभएको थियो । रासस/एएफपी

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका