शरद् शर्मा काठमाडौँ, ११ साउन ०७९ । छिमेकी मुलुक भारतमा कोरोना भाइरसको सङ्क्रमण बढिरहेको बेला नेपालमा पनि यसको प्रभाव देखिन थालेको छ । ओमिक्रोनको ‘विएफाइभ’ जातिको भेरियन्ट देखिएसँगै नेपालमा सङ्क्रणम दिनानुदिन बढिरहेको छ । विएफाइभ सङ्क्रमण उच्चदरमा फैलिने भएकाले पनि अहिले नेपालमा सङ्क्रमण बढिरहेको छ । सङ्क्रमण दर शून्य दशमलव ५ प्रतिशतसम्म झरेको नेपालमा सङ्क्रमण […]
"/> कोरोना सङ्क्रमण दर बढ्दो, सचेत रहन आग्रह - Line Khabar
Line Khabar
मङ्लबार, भदौ १८, २०८१ | September 3, 2024
  • होमपेज
  • कोरोना सङ्क्रमण दर बढ्दो, सचेत रहन आग्रह

कोरोना सङ्क्रमण दर बढ्दो, सचेत रहन आग्रह

कोरोना सङ्क्रमण दर बढ्दो, सचेत रहन आग्रह

शरद् शर्मा
काठमाडौँ, ११ साउन ०७९ । छिमेकी मुलुक भारतमा कोरोना भाइरसको सङ्क्रमण बढिरहेको बेला नेपालमा पनि यसको प्रभाव देखिन थालेको छ ।

ओमिक्रोनको ‘विएफाइभ’ जातिको भेरियन्ट देखिएसँगै नेपालमा सङ्क्रणम दिनानुदिन बढिरहेको छ । विएफाइभ सङ्क्रमण उच्चदरमा फैलिने भएकाले पनि अहिले नेपालमा सङ्क्रमण बढिरहेको छ ।

सङ्क्रमण दर शून्य दशमलव ५ प्रतिशतसम्म झरेको नेपालमा सङ्क्रमण दर अहिले १२ प्रतिशत पुगेको छ । मन्त्रालयका अनुसार गत साता बुधबार साउन ४ गते सङ्क्रमण दर १० प्रतिशत रहेकोमा अहिले त्यो १२ प्रतिशत पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका प्रमुख डा चुमनलाल दासले अहिले दैनिक बढिरहेको सङ्क्रमणले चौथो लहरको सङ्केत गरेको बताउनुहुन्छ । “अहिले देखिएको सङ्क्रमणले चौथो लहरको सङ्केत आइसकेको भन्ने देखाउँछ तर चौथो लहर होइन”, उहाँले भन्नुभयो, “त्यसैले हामी सबै सचेत रहेर स्वास्थ्यका मापदण्ड लागू गर्नुपर्दछ ।”

“नेपालमा पनि देखिएको बिएफाइभ जातको भेरियन्टको सङ्क्रमण दर उच्च रहेको छ”, उहाँले भन्नुभयो, “भारतसँग खुला सीमाको कारणले बिएफाइभ जातको सङ्क्रमण नेपालमा पनि प्रवेश गरेकाले सङ्क्रमित बढ्न थालेका हुन् ।”

खुला सीमा भएकाले दैनिक सीमानाकाबाट आउने मानिसमा सङ्क्रमण देखिने गरेको छ र ती मानिसले नै सङ्क्रमण सारिरहेका छन् । उहाँका अनुसार झापाको काँकडभिट्टा र कञ्चनपुरको गड्डाचौकी नाकाबाट प्रवेश गर्नेमा सङ्क्रमण बढी नै देखिने गरेको छ ।

नेपालमा पहिलोपटक २०७६ माघ ९ गते सङ्क्रमण पुष्टि भएको थियो । यस्तै दोस्रो सङ्क्रमित चैत १० गते देखिएको थियो । सरकारले दोस्रो सङ्क्रमित देखिएपछि मुलुकभर बन्दाबन्दी (लकडाउन) गरेको थियो ।

नेपालमा पहिलो लहर २०७६ चैतदेखि २०७७ मङ्सिरसम्म चलेको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार सङ्क्रमणको दोस्रो लहर २०७७ वैशाखदेखि भदौसम्म तथा तेस्रो लहर २०७८ पुसदेखि फागुनसम्म चलेको थियो । अहिलेसम्म ११ लाख २६ हजार ८८४ सङ्क्रमित भइसकेका छन् । यस्तै ११ हजार ९६० सङ्क्रमणकै कारण निधन भएका छन् ।

मन्त्रालयका अनुसार यो महिनामा मात्र अहिलेसम्म आठ जनाको सङ्क्रमणको कारणले निधन भइसकेको छ । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले महामारी अझै अन्त्य नभएकाले सबैले महामारीबाट जोगाउनका लागि स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने बताउनुभयो ।

“दैनिक सङ्क्रमण पहिलेजस्तै अहिले पनि बढिरहेका देखिन्छ”, उहाँले भन्नुभयो, “यसलाई चौथो लहर भनेर घोषणा गर्नुभन्दा पनि सङ्क्रमण ग्राफमा देखिन थालिएको छ ।” सङ्क्रमणको जोखिम अझै बढ्ने उहाँको भनाइ रहेको छ ।

सङ्क्रमण बढ्दै गएपछि आगामी तीन महिनाको सम्भावित सङ्क्रमितको अनुमान गरेर त्यसलाई व्यवस्थापन गर्न द्रुत कार्ययोजना अन्तिम तयारी अवस्था पु¥याइएको महाशाखा प्रमुख डा दासले बताउनुभयो ।

उहाँले सम्भावित सङ्क्रमणको जोखिमलाई ध्यान दिएर सबै अस्पताल, स्वास्थ्य संस्था र प्रदेशमा तोकिएका कोभिड–१९ अस्पताललाई सङ्क्रमित व्यक्तिको व्यवस्थापन गर्नका लागि निर्देशनसमेत दिइसकेको जानकारी दिनुभयो ।

महाशाखाले कोभिड–१९ को प्रतिकार्यमा सवै प्रदेशमा तालिम गरिएको र आगामी दिनमा थप तालिम गर्ने योजना रहेको उहाँले बताउनुभयो । भीडभाड हुने स्थानमा कोभिड–१९ को नमूना परीक्षण अभियान सञ्चालन गर्ने र समुदायस्तरमा कोभिड–१९ को अवस्थालाई थप विश्लेषण गर्ने कामसमेत महाशाखाले गरिरहेको छ ।

मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि भीडभाड हुने स्थानमा अनिवार्य मास्क र स्यानिटाइजरको प्रयोग गर्न आग्रह गरेको छ । सबै सरकारी, गैरसरकारी कार्यालय तथा मानिसको भीडभाड हुने स्थानमा विमानस्थल, हवाई लगायत सार्वजनिक यातायातमा, गोष्ठी, सेमिनार, बैठकजस्ता भीडभाड हुने कार्यक्रममा मास्कको प्रयोगलाई अनिवार्य गर्ने र स्यानिटाइजरको व्यवस्था मिलाउन आग्रह गरिएको छ । यस्तै कोभिड–१९ विरुद्धको खोप कार्यक्रमलाई प्रभावकारीरुपमा सञ्चालन गर्न निर्देशन दिँदै खोप लगाउन बाँकी रहेका सबैलाई खोप लगाउन आग्रह गरिएको छ ।

सङ्क्रमणबाट एकको निधन, पाँच सय ६४ सङ्क्रमित

कोरोना भाइरसको सङक्रमण आज पाँच सय ६४ मा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले चार हजार चार सय ५४ परीक्षणमध्ये आज पाँच सय ६४ मा सङ्क्रमण देखिएको बताउनुभयो ।

उहाँका अनुसार काठमाडौँ उपत्यकाको ललितपुरमा ४१, भक्तपुरमा १७ र काठमाडौँ दुई सय अठार मा सङ्क्रमण देखिएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार नौ सय २९ रहेको छ । विगत २४ घण्टामा २०२ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् ।

यस्तै सङ्क्रमणबाट एक जनाको निधन भएको छ । अहिलेसम्म होम आइसोलेसनमा तीन हजार सात सय ९४, संस्थागत आइसोलेसनमा एक सय ३५, सघन उपचार कक्ष (आइसियु)मा ३२ र भेन्टिलेटरमा दुईजनाको उपचार भइरहेको छ । यसैगरी विगत २४ घण्टामा एक लाख एक हजार छ सयले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका