हेटौँडा, २० असोज ०७९ । पूर्व–पश्चिम राजमार्गमा पर्ने बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २२ तीन नम्बर पुल नजिक अमलेखगञ्ज आज विहान यात्रुबाहक बस दुर्घटना हुँदा १६ जनाको ज्यान गएको छ । उक्त दुर्घटनामा अन्य ३६ जना घाइते भएका छन् । नारायणगढबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ०६–००१ ०११० नम्बरको बस विहान करिब साढे १० […]
"/> बाराको अमलेखगञ्जमा भएको बस दुर्घटनामा १६ जनाको ज्यान गयो, ३६ जना घाइते - Line Khabar
Line Khabar
शुक्रबार, भदौ २८, २०८१ | September 13, 2024
  • होमपेज
  • बाराको अमलेखगञ्जमा भएको बस दुर्घटनामा १६ जनाको ज्यान गयो, ३६ जना घाइते

बाराको अमलेखगञ्जमा भएको बस दुर्घटनामा १६ जनाको ज्यान गयो, ३६ जना घाइते

बाराको अमलेखगञ्जमा भएको बस दुर्घटनामा १६ जनाको ज्यान गयो, ३६ जना घाइते

हेटौँडा, २० असोज ०७९ । पूर्व–पश्चिम राजमार्गमा पर्ने बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २२ तीन नम्बर पुल नजिक अमलेखगञ्ज आज विहान यात्रुबाहक बस दुर्घटना हुँदा १६ जनाको ज्यान गएको छ । उक्त दुर्घटनामा अन्य ३६ जना घाइते भएका छन् ।

नारायणगढबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ०६–००१ ०११० नम्बरको बस विहान करिब साढे १० बजे जीतपुर सिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्जमा सडकबाट झण्डै सय मिटर तल खसेर दुर्घटना भएको हो । प्रहरीले उक्त बसको ब्रेक फेल भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ ।

१५ को सनाखत
बस दुर्घटनामा मृत्यु भएका १६ जनामध्ये १५ जनाको सनाखत भएको छ । हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएका १२ जना, चुरेहिल अस्पतालमा दुई जना, सहकारी अस्पतालमा एक जना र भरतपुर लैजाने क्रममा एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बारा–कलैया उपमहानगरपालिकाका लीलाराज चौरसिया, चितवन खैरहनी नगरपालिका–५ की नन्दकुमारी पुडासैनी, चितवन कालिका नगरपालिकाका १५ वर्षीय बालक सफल कँडेल, चितवन खैरहनी–५ का मनोरथ पुडासैनी, बाराका ५५ वर्षीय राम आश्रय राय, पर्सा– १६ की मुन्ननी देवि चौरसिया, हेटौँडा–७ की अन्दाजी ५५ वर्षीया शुभलक्ष्मी श्रेष्ठ, सोही स्थानकी २० वर्षीया स्वस्तिका श्रेष्ठ, बारा–कलैया–१० का नगरिन खातुन, बारा–अमलेखगञ्जका सुरेश विक, बारा–कलैयाका इन्ताज अन्सारी, ओखलढुङ्गाका अन्दाजी ४५ वर्षीय लालबहादुर बोगटी, गोर्खाका अम्बिका कँडेल र पर्सा–१६ का सकेमप्रसाद चौरसिया रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बसमा ५२ जना सवार रहेको खुलेको ट्राफिक प्रहरी कार्यालय मवानपुरका प्रहरी निरीक्षक मुनेन्द्र थापाले जानकारी दिनुभयो ।

घाइते २० जनालाई भरतपुर लगियो
पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ मा बस दुर्घटनामा घाइते ३६ मध्ये २० जनालाई थप उपचारका लागि चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेज लगिएको छ ।

हेटौँडाको हेटौँडा अस्पताल, चुरेहिल अस्पताल, सञ्चो अस्पताल र मकवानपुर सहकारी अस्पतालमा प्राथमिक उपचारपछि चितवन पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलराम श्रेष्ठले जानकारी दिनुभयो । प्रहरीका अनुसार हेटौँडा उपमहानगरपालिका–१४, नयाँबस्तीका १४ वर्षीय अमृत लोप्चन, सोही ठाउँका १२ वर्षीय विज्ञान घिसिङ, चितवनको खैरेनी नगरपालिका–८ का ५४ वर्षीय भीमसेन अधिकारी र खैरहनीकै ३८ वर्षीया रविना अधिकारीलाई उपचारका लागि चितवन लगिएको हो ।

यसैगरी हेटौँडा उपमहानगर–१४ चुरियामाईकी ३४ वर्षीया ठूलीमाया स्याङ्तान, सोही स्थानकी ३५ वर्षीया मञ्जुकुमारी लोप्चन, पर्साको वीरगञ्ज महानगरपालिका–१६ की २२ वर्षीया रविना चौरसिया, सोही स्थानका २५ वर्षीय सन्दिप चौरसिया, ४० वर्षीया लक्ष्मीदेवी चौरसिया र ६२ वर्षीया मालती चौरसियालाई पनि उपचारका लागि चितवन लगिएको प्रहरीले जनाएको छ ।

यस्तै हेटौँडा उपमहानगर–७ की १७ वर्षीया सोनिया श्रेष्ठ, बाराको जीतपुर सिमरा उपमहानगरपालिका–२२ का ११ वर्षीय शिशिर विक, हेटौँडा उपमहानगर–१४ का १५ वर्षीय प्रशान्त स्याङ्तान, वीरगञ्ज महानगर–१६ का ११ वर्षीय दिवी आयान चौरसिया, सोही स्थानका प्रिन्स चौरसिया, चितवनका २० वर्षीय आयुस बाँस्तोला र वीरगञ्ज–१६ का सात वर्षीय दीपेश चौरसियालाई पनि थप उपचारका लागि चितवन लगिएको प्रहरीले जनाएको छ ।

यसैगरी हेटौँडा उपमहानगर–८ का १७ वर्षीय सलमान आलम, सोही ठाउँका १५ वर्षीय सवनम खातुन र हेटौँडा उपमहानगर–१४ की सात वर्षीया सुविना घिसिङलाई पनि थप उपचारका लागि चितवन पठाइएको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका