चितवन, १० असार ०८० । भरतपुर महानगरपालिकाले एकीकृत सहरी विकास गुरुयोजना तयार गरी व्यवस्थित, सन्तुलित र दिगो सहरी पूर्वाधार निर्माणमा प्राथमिकता दिएको छ । तेह्रौं नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रममा महानगरपालिकाकाले मुख्य सहरी क्षेत्रमा कालोपत्रे निर्माणसँगै ढल निर्माण गर्ने नीति लिएको हो । महानगर प्रमुख रेनु दाहालले आज प्रस्तुत गरेको नीति तथा कार्यक्रममा भरतपुर महानगरपालिकालाई […]
"/> यस्तो छ भरतपुरको आ.व. २०८०/८१को नीति तथा कार्यक्रम - Line Khabar
Line Khabar
मङ्लबार, मंसिर २५, २०८१ | December 10, 2024
  • होमपेज
  • यस्तो छ भरतपुरको आ.व. २०८०/८१को नीति तथा कार्यक्रम

यस्तो छ भरतपुरको आ.व. २०८०/८१को नीति तथा कार्यक्रम

यस्तो छ भरतपुरको आ.व. २०८०/८१को नीति तथा कार्यक्रम

चितवन, १० असार ०८० । भरतपुर महानगरपालिकाले एकीकृत सहरी विकास गुरुयोजना तयार गरी व्यवस्थित, सन्तुलित र दिगो सहरी पूर्वाधार निर्माणमा प्राथमिकता दिएको छ । तेह्रौं नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रममा महानगरपालिकाकाले मुख्य सहरी क्षेत्रमा कालोपत्रे निर्माणसँगै ढल निर्माण गर्ने नीति लिएको हो ।

महानगर प्रमुख रेनु दाहालले आज प्रस्तुत गरेको नीति तथा कार्यक्रममा भरतपुर महानगरपालिकालाई समृद्ध, स्वच्छ, सफा, हरियाली युक्त र सुरक्षित महानगरका रुपमा विकास गर्न एकीकृत सहरी विकास गुरु योजना तयार गरी व्यवस्थित, सन्तुलित र दिगो सहरी पूर्वाधारहरू निर्माणमा प्राथमिकता दिइनेछ ।

संघीय सरकारको लगानीमा भरतपुर महानगरको मुख्य सहरी क्षेत्रमा प्रशोधनसहितको ढल निकासका लागि खानेपानी तथा ढल व्यवस्थापन सम्बन्धी मेगा आयोजना यसै आर्थिक वर्षदेखि कार्यान्वयनमा ल्याईने प्रमुख दाहालले बताउनुभयो ।

संघ र प्रदेश सरकारको सहयोग र सहाकार्यमा महानगरपालिका भित्र निर्माणाधीन रिङ रोड र लिङ्क कार्य निर्माण कार्य अगाडि बढाइनेछ र सहिद चोक, हाकिमचोक र मालपोत चोकजस्ता व्यस्त चोकहरूमा आकाशे पुल निर्माण गरिनेछ ।

खाल्टाखुल्टी मुक्त महानगरको अभियानलाई निरन्तरता दिई महानगरपालिकामा निर्मित पूर्वाधारहरूको साना मर्मत सम्भार कार्यहरू तत्काल कार्यान्वयन गर्न पूर्वाधार एम्बुलेन्स सहितको प्राविधिक टिम बनाई परिचालन गरिनेछ।

महानगरभित्र आवश्यक स्थानमा स्मार्ट सार्वजनिक शौचालयहरू निर्माण कार्यलाई निरन्तरता दिइनेछ। ।संघीय सरकारको सहयोगमा नारायणगढ पुल्चोकस्थित नारायणी नदीमा सिग्नेचर पुल समयमा निर्माण सम्पन्न गर्न आवश्यक समन्वय गरिनेछ। साथै भरतपुरलाई कावासोतीसँग जोड्न वडा नं. २६ को घोसरघाटस्थित नारायणी नदीमा र माडीसँग जोड्न वडा नं.२४ को ध्रुवघाटस्थित राप्ती नदीमा सडक पुल निर्माणका लागि संघीय सरकारसँग आवश्यक समन्वय गरिनेछ।

मुख्य सहरी क्षेत्रको पार्किङ व्यवस्थित बनाउन निजीक्षेत्रसँगको सहकार्यमा सशुल्क स्मार्ट पार्किङ व्यवस्थापनलाई अगाडि बढाइने छ ।
सडकमा अनुचित ढङ्गबाट राखिएका निर्माण सामग्रीका कारण आवागमनमा अवरोध गर्ने र दुर्घटना हुने, महानगरपालिकाबाट निर्माण भएका सडक, फुटपाथ बिग्रने भएको हुँदा त्यस्तो गर्ने व्यक्ति तथा निर्माण व्यवसायीलाई कारवाहीको दायरामा ल्याइनेछ। जरिवाना र मर्मत खर्च यकिन गरी सम्बन्धित पक्षबाट असुल उपर गर्ने नीति कडाइका साथ कार्यान्वयनमा ल्याइने ल्याइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

देशकै गौरवको आयोजनाका रूपमा रहेको निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला संघ र प्रदेश सरकारसँग समन्वय गरी निर्माण कार्य अगाडि बढाइने जनाईएको छ ।

संघ र प्रदेश सरकारसँगको समन्वय र सहकार्यमा भरतपुर महानगरपालिकाको वडा नं. १५ मा संघीय शिक्षक अस्पताल र वडा नं. १४ मा प्रादेशिक आयुर्वेद अस्पताल आ.व. २०८०/८१ मा निर्माण कार्य प्रारम्भ गरिने भएको छ ।

देश भित्रैको स्रोतसाधनलाई प्रयोग गरी पूर्वाधार निर्माण गर्ने नीति अवलम्बन गरिनेछ।सो अनुसार ६ मिटर र ६ मिटरभन्दा सानो क्षेत्राधिकार भएका सडकहरू, भिरालो र घुम्ती चोकहरूमा ढलान गर्ने कार्यलाई प्राथमिकता दिइने नीति तथा कार्यक्रममा जनाइएको छ ।

सहरी संरचनालाई विश्वव्यापी मापदण्डअनुरूपको बनाउन अपाङ्गतामैत्री र वातावरणमैत्री भौतिक संरचना निर्माण गरिनेछ ।
केरूङ्गा घोल, पुङ्गी खोला लगायतका खोलाहरूलाई महानगरको सतहको आकाशे पानी स्र्टोम वाटर ड्रेनेज निकासको क्षेत्र घोषणा गरी संरक्षण तथा सौन्दर्यीकरण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

एक घर दुई रुख अनिवार्य
भरतपुर महानगरपालिकाले एक घर दुई रुख अनिवार्य गरेको छ । तेह्रौं नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रममा महानगरपालिकाले एक घर दुई रुखको नीति कडाइका साथ कार्यान्वयन गर्ने नीति महानगरले लिएको हो। महानगर प्रमुख रेनु दाहालले आज प्रस्तुत गरेको नीति तथा कार्यक्रममा घर नक्साको निर्माण सम्पन्न लिन अनिवार्य रुपमा रुख रोपी संरक्षण गरेको प्रतिवेदन संलग्न गर्नुपर्ने जनाईएको छ । यस्तै एक वडा एक पार्क निर्माणको नीतिलाई निरन्तरता दिइने छ । “हाम्रो सहर, हरियाली तथा स्वच्छ शहर” अवधारणालाई अगाडि बढाई सडक, मिडियन गार्डेन, सडक आइल्याण्ड, पार्क, मनोरन्जन स्थल र खाली स्थान एवं चोकहरूमा हरियाली वातावरण सृजना गरी मनमोहक र वातावरण मैत्री महानगर बनाउन एक परियोजनाको रुपमा हरियाली प्रवर्धन कार्यक्रमको थालनी गरिनेछ । केन्द्रीय बस टर्मिनलदेखि आँपटारीसम्मको बाइपास रोडलाई हरित नमुना सडकको रुपमा विकास गरिनेछ । गोन्द्राङ–पुल्चोक सडकको दायाँ बायाँ किनारमा हरियाली प्रवर्धन गर्न ठूला हुर्किएका रुख रोपण र संरक्षण गरिनेछ।

“वातावरण संरक्षण र हरियाली प्रवर्धनका लागि सबै सँगसँगै” को सामूहिक भावनाका साथ व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत स्वच्छ वातावरण र हरियाली प्रवर्धन गर्न निजी क्षेत्र तथा व्यावसायिक संघ संस्थासँग समन्वय र सहकार्य गरिनेछ ।
वातावरणीय सन्तुलन कायम गर्न टेवा पुर्याउने गरी सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई निःशुल्क रूपमा बिरुवा वितरण गरी वृक्षारोपण र संरक्षणको व्यवस्था मिलाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गरिने
भरतपुर महानगरपालिकाले माध्यमिक तहका विद्यार्थीका लागि पढ्दै कमाउँदै कार्यक्रम सञ्चालनमा ल्याउने भएको छ ।

महनगरपालिका प्रमुख रेनु दाहालले तेह्रौँ नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रममा शिक्षालाई उत्पादनसँग जोड्दै श्रमको सम्मान गर्ने संस्कृति विकास गर्न “श्रमको सम्मान, राष्ट्रको स्वाभिमान” भन्ने नाराका साथ पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको छ ।

माध्यमिक तहमा प्राविधिक शिक्षाको विस्तारका लागि विद्यार्थी सङ्ख्या उच्च भएका सामुदायिक र संस्थागत विद्यालयलाई कक्षा ९–१२ मा प्राविधिक धार सञ्चालनका लागि प्रोत्साहन गर्ने जनाईएको छ ।

महानगरको स्रोतबाट अति सिमान्तकृत र लोपोन्मुख समूहका विद्यार्थीलाई प्रदान गरिँदै आएको महानगर छात्रवृत्ति आगामी वर्षबाट दलित विद्यार्थीहरूलाई समेत थप गरी प्रदान गरिने छ ।संस्थागत विद्यालयबाट प्रदान गरिने छात्रवृत्तिलाई व्यवस्थित र पारदर्शी बनाउने कार्यलाई निरन्तरता दिइनेछ।

सबै विद्यालयमा गुणस्तरीय शिक्षण–सिकाइको वातावरण निर्माण गर्न व्यवस्थापन गरिएका इन्टरनेट, कम्प्युटर र विषयगत शैक्षिक सामग्री लगायत उपलब्ध स्रोतसाधनको प्रभावकारी प्रयोगमा जोड दिइनेछ। समयसापेक्ष सूचना प्रविधिमा आधारित सिकाइका लागि सामुदायिक विद्यालयमा कार्यरत शिक्षकलाई तालिम प्रदान गरी क्षमता विकास गरिनेछ।

शैक्षिक गुणस्तर अभिवृद्धिका मापदण्ड निर्धारण गरी एक वडा एक नमुना विद्यालय कार्यक्रमलाई निरन्तरता दिइनेछ। शिक्षालाई सूचना तथा सञ्चार प्रविधिसँग जोड्न “मेयर डिजिटल शिक्षा” कार्यक्रमलाई एक वडा एक नमुना विद्यालय कार्यक्रमसँग आबद्ध गरी कार्यान्वयनमा ल्याइनेछ। त्यसका लागि पहिलो वर्ष ३ वटा विद्यालयमा स्मार्ट कक्षाकोठा सञ्चालनको पाइलटिङ गरी क्रमशः सबै सामुदायिक विद्यालयमा विस्तार गरिनेछ ।

हाम्रो मौलिक सभ्यता, साँस्कृतिक मूल्य मान्यता र श्रमको सम्मान जस्ता विषयमा शिक्षालाई व्यवहारिक जीवनसँग जोड्न सबै विद्यार्थीलाई नियमित पठनपाठनका अतिरिक्त हरेक शुक्रबार रचनात्मक र सिर्जनात्मक कार्यमा सहभागी गराउन “मौलिक र व्यवहारिक शुक्रबार“ अभियान कार्यान्वयनमा ल्याइनेछ।उक्त दिन पाठ्यपुस्तक रहित सिकाइका क्रियाकलापहरू जस्तै, स्थानीय पाठ्यक्रमका क्रियाकलाप, महानगरको शैक्षिक क्यालेन्डरमा समाविष्ट अतिरिक्त क्रियाकलाप, खेलकुद, संगीतका क्रियाकलापहरू, नैतिक शिक्षा, मनोपरामर्श, योग र प्राकृतिक चिकित्साको अभ्यास गराउनुका साथै महिनाको एउटा शुक्रबार सरसफाइ, वृक्षारोपण जस्ता सामाजिक सेवामा संलग्न गराउने व्यवस्था मिलाइनेछ। महानगरको शिक्षा क्षेत्रमा आवश्यक सुधारका लागि योजनाबद्ध रुपमा कार्यक्रम अगाडि बढाउने उद्देश्यले सरोकारवालाको सहभागितामा तयार पारिएको शिक्षाको १० वर्षे रणनीति कार्यान्वयनमा ल्याइनेछ।

“भरतपुर भ्रमण वर्ष, २०२४” मा २ लाख पर्यटक भित्र्याइने
भरतपुर महानगरपालिकाले “भरतपुर भ्रमण वर्ष, २०२४” मा २ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।

तेह्रौँ नगरसभामा महानगरपालिका प्रमुख रेनु दाहालद्धारा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा “भरतपुर भ्रमण वर्ष, २०२४” मा २ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको उल्लेख गरिएको छ ।

“भरतपुर भ्रमण वर्ष, २०२४” लाई भरतपुर महानगरले निजी, सामाजिक, सामुदायिक, गैर सरकारी क्षेत्र लगायत महानगरका सम्पूर्ण सरोकारवाला पक्षहरूको सहभागितामा उत्सवका रुपमा मनाउने नीति तथा कार्यक्रममा जनाईएको छ ।

वर्षैभरि पर्यटन प्रवर्धन अभियानका रुपमा अगाडि बढाई पर्यापर्यटन, साँस्कृतिक पर्यटन, साहसिक पर्यटन, धार्मिक पर्यटन, जल पर्यटन, माइस पर्यटन, कृषि पर्यटन, विकास पर्यटन, स्वास्थ्य पर्यटन, सहकारी पर्यटन, खेल पर्यटन र शैक्षिक पर्यटनका मध्यमबाट विदेशी २ लाख पर्यटक भित्र्याइने नीति लिएको छ ।

भरतपुर भ्रमण वर्ष २०२४ सफल बनाउन निजी तथा साझेदार संघ संस्था, प्रदेश सरकार एंव संघीय सरकारसँग समन्वय तथा सहकार्य गरिनेछ ।

पर्यटन क्षेत्रको विकास र विस्तारको लागि अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन गुरुयोजना तर्जुमा गरी वार्षिक कार्यक्रममा समावेश एवम् कार्यान्वयन गरिनेछ ।

भरतपुर चितवन – पोखरा – लुम्बिनी स्वर्ण त्रिकोण पर्यटन प्रवर्धन कार्यक्रमलाई सफलतापूर्वक कार्यान्वयन गरिनेछ ।

महानगरपालिकाले पहिचान गरेका ३० वटा प्रमुख पर्यटकीय गन्तव्यहरूको प्रवर्धन तथा विकास गरिनेछ ।पर्यटन सूचना नक्सा तयार गरी कार्यान्वयनमा ल्याइनेछ ।स्थानीय उपभोक्ताहरूको साझेदारीमा चौकीडाँडालाई हिल स्टेसनको रुपमा विकास गरिनेछ ।

भरतपुर भ्रमण वर्ष, २०२४ सन्दर्भमा नारायणी नदी किनारमा पर्यटकीय स्तम्भ निर्माण गरिनेछ। भरतपुर भ्रमण वर्ष २०२४ लाई सफल बनाउन महानगरका मुख्य प्रवेश मार्गमा स्थानीय कला र संस्कृति झल्कने गरी प्रवेश द्वार निर्माण गर्नुका साथै पर्यटकीय स्थलहरूको सौन्दर्यीकरण गर्ने जनाएको छ ।

आदिवासी जनजाति, पिछडा वर्ग आदिको भाषा, लिपि, बाजागाजा, रीतिरिवाज परम्परा संस्कृति आदिको संरक्षण गर्ने नीतिलाई निरन्तरता दिइनेछ।विभिन्न जाति जनजातिको पहिचान झल्किने साँस्कृतिक महोत्सव आयोजना गरिनेछ ।

महानगरपालिकाको साँस्कृतिक सम्पदा सूचीहरूको सर्भेक्षण गरी महत्वपूर्ण सम्पदा स्थलहरूको संरक्षण गुरुयोजना तयार गरिनेछ।महानगरका परम्परागत रैथाने संस्कृतिहरू, सम्पदा र उत्पादनहरूलाई बजारीकरण गर्न आवश्यक कार्यक्रमहरू अगाडि बढाउने भएको छ ।
पर्यटन सम्बन्धी सम्पूर्ण कार्यक्रमलाई व्यवस्थित गर्न पर्यटन कार्यविधि बनाई कार्यक्रमहरू सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका