काठमाडौँ, १३ साउन ०७९ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रकृतिको विशिष्ट र दुर्लभ वन्यजन्तुका रुपमा रहेको बाघ आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यावरणीय र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको बताउनुभएको छ । विश्व बाघ दिवसका अवसरमा राष्ट्रिय बाघ संरक्षण समिति नेपालद्वारा आज काठमाडौँमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले बाघको संरक्षणबाट वातावरण स्वच्छ हुने भएकाले यसको संरक्षणमा जुट्न आह्वान […]
"/> नेपालमा बाघको सङ्ख्या ३५५, दोब्बर बनाउन सफल - Line Khabar
Line Khabar
बिहिबार, अशोज ३, २०८१ | September 19, 2024
  • होमपेज
  • नेपालमा बाघको सङ्ख्या ३५५, दोब्बर बनाउन सफल

नेपालमा बाघको सङ्ख्या ३५५, दोब्बर बनाउन सफल

बासस्थान व्यवस्थापन गर्न आवश्यक : प्रधानमन्त्री देउवा

नेपालमा बाघको सङ्ख्या ३५५, दोब्बर बनाउन सफल

काठमाडौँ, १३ साउन ०७९ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रकृतिको विशिष्ट र दुर्लभ वन्यजन्तुका रुपमा रहेको बाघ आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यावरणीय र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको बताउनुभएको छ ।

विश्व बाघ दिवसका अवसरमा राष्ट्रिय बाघ संरक्षण समिति नेपालद्वारा आज काठमाडौँमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले बाघको संरक्षणबाट वातावरण स्वच्छ हुने भएकाले यसको संरक्षणमा जुट्न आह्वान गर्नुभयो । बाघ पाइने विश्वका सीमित देशमध्ये नेपाल पनि एक भएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री देउवाले बाघको संरक्षणबाट पर्यटकीय क्रियाकलाप गरी आर्थिक उपार्जन बढ्ने बताउनुभयो ।

“बाघको संरक्षण वृद्धि सुखद् छ, नेपालले सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा भएको सम्मेलनको महत्वाकाङ्क्षी योजनाअनुसार लक्ष्य पूरा गर्न योगदान गर्ने सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु, बाघका लागि पर्याप्त आहार र विचरण क्षेत्र नहुँदा मानवबस्तीमा पसेर दुःखद् घटना हुने गरेकाले यसबाट सचेत हुनुपर्ने समय आएको छ, जनता ठूलो कि जनावर ठूलो भन्ने बहस चलेको छ”, उहाँले भन्नुभयो ।

बाघको बासस्थान व्यवस्थापन गरेर स्थानीयवासीको जीविकोपार्जन सुधार गर्न आवश्यक रहेको प्रधानमन्त्री देउवाले बताउनुभयो । बाघ संरक्षणका चुनौती अन्त्य गर्न थप अध्ययन अनुसन्धान आवश्यक भएको धारणा उहाँले राख्नुभयो । संरक्षित क्षेत्र वरपरको बस्तीलाई सुरक्षित गर्न आवश्यक भएको पनि प्रधानमन्त्री देउवाले बताउनुभयो ।

बाघको छला, हड्डीलगायतका कारण चोरी सिकारी हुनसक्ने भएकाले संरक्षणका चुनौती सामना गर्ने गरी तयारी गर्न मन्त्रालयलगायत सरोकार निकायलाई उहाँले निर्देशन दिनुभयो । उहाँले बाघ संरक्षणका लागि कर्मचारी वृद्धि, क्षमता वृद्धि, अन्तर्राष्टि«य सहायता संस्थासँग समन्वय आवश्यक भएको धारणा राख्नुभयो ।

हालै सरकारले वन्यजन्तु मैत्री पूर्वाधार निर्देशिका जारी गरेकाले त्यसअनुसार काम हुने विश्वास प्रधानमन्त्री देउवाले व्यक्त गर्नुभयो । समारोहमा पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बाघको संरक्षणका लागि मन्त्रालय र यसअन्तर्गतका निकायलाई आग्रह गर्नुभयो । बाघ संरक्षणका क्षेत्रमा राम्रो काम गर्नेलाई पुरस्कृत गर्न पनि उहाँले सुझाव दिनुभयो ।

“नेपाललाई अन्तर्राष्ट्रियस्तरमा परिचित गराउन बाघ पनि महत्वपूर्ण भएकाले यसको संरक्षण गर्नु आवश्यक छ, बाघको संरक्षणका लागि वन क्षेत्रको विकास गर्नुपर्छ, यसका लागि प्रकृति संरक्षण कोषले पनि ध्यानदिनुपर्छ”, अध्यक्ष नेपालले भन्नुभयो ।

प्रकृतिको संरक्षण गर्न नसके कुनै पनि जनावरको रक्षा गर्न नसकिने भएकाले सबैले आआफ्नो स्थानबाट संरक्षणमा जुट्नुपर्ने उहाँको भनाइ थियो । वन तथा वातावरण मन्त्रालयका सचिव पे्रमनारायण कँडेलले बाघको संरक्षण गर्दा सङ्ख्या वृद्धि हुनुका साथै वातावरण संरक्षणमा पनि सहयोग पुग्ने भनाइ राख्नुभयो ।

बाघको सङ्ख्या वृद्धिका लागि विशेष कार्यक्रम सुरु गरिएको उहाँले बताउनुभयो । बाघ पाइने स्थानको पहिचान गरी नेपाली सोनाकोसमेत सहयोगले बाघ संरक्षण गर्न सकिएको उहाँले जानकारी गराउनुभयो ।

सो अवसरमा हाल नेपालमा बाघको सङ्ख्या ३५५ पुगेको जानकारी गराइएको थियो । सन् २०१० अघि १२१ बाघमात्र नेपालमा थियो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक रामचन्द्र कँडेलले सन् २०१० मा बाघको सङ्ख्या घटेकामा हाल उल्लेखनीयरुपमा बढेको बताउनुभयो । नौ प्रजातिका बाघमध्ये विश्वमा तीन प्रजाति लोप भएर तीन प्रजातिमात्र थियो । विश्वका १३ देशले गरेको प्रतिबद्धताअनुसार नेपालले दोब्बर बनाउन सफल भएको जानकारी पनि उहाँले दिनुभयो । बाघ संरक्षणमा नेपाल सफल देशका रुपमा स्थापित भएको छ ।

राष्ट्रिय बाघ तथा आहार प्रजाति सर्वेक्षण प्रतिवेदन २०२२ का अनुसार बाघको सङ्ख्यामा चार वर्षमा ५१ प्रतिशत बृद्धि भएको हो । प्रतिवेदनअनुसार पर्सा राष्ट्रिय निकुञ्ज तथा वरपरको वन क्षेत्रमा ४१, चितवन राष्ट्रिय निकुञ्ज तथा वरपरको वन क्षेत्रमा १२८, बाँके राष्ट्रि निकुञ्ज र वरपरको वन क्षेत्रमा २५, बर्दिया राष्ट्रिय निकुञ्ज र वरपरको क्षेत्रमा १२५ र शुक्लाफाँटा लालझाडी जोगबुढाक्षेत्रमा ३६ गरी जम्मा ३५५ बाघ रहेको उल्लेख गरीएको छ । बाघको सङ्ख्या एकिन गर्न तराई आर्क ल्याण्डस्केप अन्तर्गतका १५ जिल्लामा अकुपेन्सी सर्वेक्षण गरिएको वन तथा वातावरण मन्त्रालयका सचिव डा पेमनारायण कँडेलले जानकारी दिनुभयो । बाघको सङ्ख्या एकिन गर्न बाघको बसोबास रहेको क्षेत्र चितवन, पर्सा, बाँके बर्दिया र शुक्लाफाँटा लालझाडी जोगबुढा तीन क्षेत्र विभाजन गरी क्यामेरा ट्रयाप विधी प्रयोग गरी सर्वेक्षण गरीएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका