बागलुङ, १८ वैशाख (०७८) । ५३ वर्षको उमेरमा पनि उस्तै जोश, उस्तै जाँगर । नारायणप्रसाद शर्माको जीवनकथाको सन्देश हो– ‘मिहिनेत गरे के हुन्न ?’ शर्माले चार वर्ष बागलुङ नगरपालिकामा रहेको सिम्लेको सरस्वती प्राथमिक विद्यालयमा शिक्षकका रुपमा बिताउनुभयो । गाइभैँसी पालेर केही समय दूध पनि बेच्नुभयो । पन्ध्रवर्ष फर्निचर व्यवसाय पनि चलाउनुभयो । आफ्नो मेहनतले नै […]
"/> ५३ वर्षीय शर्माको जोश : मिहिनेत गरे के हुन्न ? - Line Khabar
Line Khabar
आइतवार, मंसिर १६, २०८१ | December 1, 2024
  • होमपेज
  • ५३ वर्षीय शर्माको जोश : मिहिनेत गरे के हुन्न ?

५३ वर्षीय शर्माको जोश : मिहिनेत गरे के हुन्न ?

५३ वर्षीय शर्माको जोश : मिहिनेत गरे के हुन्न ?

बागलुङ, १८ वैशाख (०७८) । ५३ वर्षको उमेरमा पनि उस्तै जोश, उस्तै जाँगर । नारायणप्रसाद शर्माको जीवनकथाको सन्देश हो– ‘मिहिनेत गरे के हुन्न ?’

शर्माले चार वर्ष बागलुङ नगरपालिकामा रहेको सिम्लेको सरस्वती प्राथमिक विद्यालयमा शिक्षकका रुपमा बिताउनुभयो । गाइभैँसी पालेर केही समय दूध पनि बेच्नुभयो ।

पन्ध्रवर्ष फर्निचर व्यवसाय पनि चलाउनुभयो । आफ्नो मेहनतले नै सबै क्षेत्रमा सफलता पाउँदै जानुभएका उहाँले चार वर्षदेखि माछा पालन थाल्नुभएको छ । उहाँको व्यावसायीक हुटहुटी भने प्राङ्गारीक उत्पादनसँग जोडिने हो ।

बागलुङ –३ को काठेखोला पावरहाउस छेवैमा उहाँको माछा फर्म छ । त्रिपन्न वर्षिय शर्माको फर्ममा ग्रास, काप, रहु, नैनी, कमन काप, बिगेड, सिलभरलगायतमा माछा छन् । माछासँगै पाँचसय हाँस, एक सय टर्की, एक हजार लोकल कुखुरासमेत रहेका छन् । यी सबै व्यवसायमा जोडिन उहाँले आफ्नो १५ रोपनी जमिनसँगै भाडाको झण्डै ४५ रोपनी जमिन गरी ६० रोपनीमा उहाँले व्यवसाय चलाउनुभएको छ ।

करिव ४५ लाख रुपैयाँ लगानीबाट उहाँले थालेको व्यवसायमा ‘फूलबारी कटेज’ नामक रेष्टुरेन्ट समेत सञ्चालन गर्नुभएको छ । अघिल्लो वर्ष सुरु भएको रेष्टुरेन्टमा माछाका परिकार खान पाइन्छ । दिनभरीको तनाव कम गर्दै बाँसले बनेका रेष्टुरेन्टमा पुगेर अर्गानिक खाना र माछाको स्वाद लिन बागलुङ बजारका धेरै पुग्ने गरेका छन् ।

“जसले जे व्यवसाय गरेपनि, जागिर खाएपनि कृषिसँग जोडिनै पर्छ भन्ने बुझेर यता लागेको हुँ” उहाँले भन्नुभयो, “लाखौं कमाइ गरेपनि कृषि फसल खाएरै बाँच्ने हो, यो पेशामा लाग्दा धेरैको भोक मेटाउन सकिने रहेछ ।” उहाँले बारीमा केरा र केही तरकारीसमेत लगाउनुभएको छ । केराको पातसहित बोट र तरकारीका बोक्रा पनि माछाका लागि उपयोगी आहारा भएको शर्माले जानकारी दिनुभयो ।

वर्षको दुई लाख भाडा तिरेको जमिनमा सञ्चालित फर्मबाट उहाँले मासिक २ लाखबढी कमाइ गरिरहनुभएको छ । “अहिले पनि वर्षमा २० क्विन्टल माछा उत्पादन गरिरहेको छु, यो बढाएर ३० क्विन्टल पु¥याउने लक्ष छ” उहाँले भन्नुभयो, “यो मेहेनतबाट परिवारका तीन जना सदस्य र थप ३ युवा रोजगार बनेका छौं ।” माछा पालनमा हौसिनुभएका उहाँले अझै बढाउने सोच बनाएको बताउनुभयो ।

खोलाको छेवैमा भएकोले पानीको दुःख छैन । आफ्नै खेतमापोखरी बनाएकोले लामो समयसम्म पाल्न सकिन्छ । विदेश जान खोजेका छोरालाई समेत कृषिमा जोडेकोले उहाँ उदाहरणीय पात्र बनेको मिर्मिरे कृषि सहकारी संस्थाका अध्यक्ष गंगाबहादुर थापाले बताउनुभयो ।

शर्माले वास्तविक किसानका लागि राज्यले लगानी गरेमा वैदेशिक रोजगारी घट्ने र स्वदेशी उत्पादन बढाएर आयात प्रतिस्थापन गर्न सकिने जानकारीदिनुभयो । “सरकारले किसानलाई चाहिने मल, बीउ र रसायनिक मलमा सहुलियत दिनुपर्छ” उहाँले भन्नुभयोे, “कोरोनाले व्यवसायमा परेको असरप्रति पनि चासो दिएमा युवाहरु कृषि पेशामा आर्कषण हुने थिए ।”

कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराइले उहाँको कृषि फर्म अनुगमन गरिसक्नुभएको छ । उहाँको मेहेनत देखेपछि प्राविधिक रुपमा साथ सहयोग गर्न तयार रहेको जानकारीदिनुभयो । “हामीले पनि वास्तविक किसानलाई नै सहयोग गर्ने हो” उहाँले भन्नुभयो, “किसानलाई धनी बनाइयो भने मात्रै अन्य पेशा खोज्नेले कृषि रोज्ने छन् ।”

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका