Line Khabar
सोमवार, अशोज २७, २०८२ | October 13, 2025
  • होमपेज
  • ‘कोभिड नियन्त्रणका लागि आवश्यक सम्पूर्ण खर्च गर्न वाग्मती सरकार तयार’

‘कोभिड नियन्त्रणका लागि आवश्यक सम्पूर्ण खर्च गर्न वाग्मती सरकार तयार’

‘कोभिड नियन्त्रणका लागि आवश्यक सम्पूर्ण खर्च गर्न वाग्मती सरकार तयार’

वाग्मती, २० वैशाख (०७८) । वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले कोरोना महामारी (कोभिड १९) रोक्न कुनै कसर बाँकी नराखिने बताउनुभएको छ । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री बस्नेतले कोरोनाको संक्रमण नियन्त्रणका लागि सबै क्षेत्र लाग्नुपर्ने बताउनुभयो ।

सामाजिक विकास राज्यमन्त्री डा रामकुमार अधिकारीले प्रदेश मातहतका सबै अस्पताल तथा स्वास्थ्य संस्था एवं स्थानीय तहलाई महामारी नियन्त्रणका लागि लाग्न अनुरोध गरिएको जनाउँदै महामारी नियन्त्रणका लागि आवश्यक सम्पूर्ण खर्च गर्न सरकार तयार रहेको बताउनुभयो । “महामारी नियन्त्रण गर्न चाहिने भौतिक संरचना निर्माण वा भाडामा लिन, स्वास्थ्य सामग्री खरीद गर्न, स्वास्थ्यकर्मी वा चिकित्सक नियुक्त गर्न जे आवश्यकता छ त्यो गर्नुस् भनेका छौंँ, हरेक कामका लागि रकम निकासा गर्न र सम्पूर्ण आर्थिक दायित्व पूरा गर्न मन्त्रालय तयार छ भनेका छौंँ”, उहाँले भन्नुभयो ।

मन्त्रालयका प्रवक्ता डा पुरुषोत्तम सेढाईँले देशका कूल संक्रमितमध्ये वाग्मतीमा आधाभन्दा बढी भएको जानकारी दिनुभयो । उहाँका अनुसार नेपालमा कूल संक्रमित तीन लाख ३६ हजार ३० रहेकामा वाग्मतीमा मात्रै एक लाख ८३ हजार ३०५ जना छन् । डा सेढाईँले पछिल्लो २४ घण्टामा प्रदेशका काठमाडौँ, ललितपुर र भक्तपुरमा सबैभन्दा बढी नयाँ संक्रमण देखिएको जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेशका ४१५ सघन उपचार कक्ष शय्यामध्ये २८० मा बिरामी भर्ना भएका छन् । त्यस्तै भेन्टिलेटर बेडको संख्या १६० रहेको र तिनमा भर्ना भएका बिरामी ९० जना रहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका