नारायण अधिकारी चितवन, ९ चैत ०७८ । कुखुरालगायत पक्षीमा रानीखेत र एच नाइन रोगको प्रकोप फैलिएको छ । गत मङ्सिरबाट देशका विभिन्न स्थानमा देखिएको यी रोगको प्रकोप फागुनयता झनै फैलिएको हो । ठूलो सङ्ख्यामा व्यावसायिक कुखुरापालनमा क्षति भएको भए पनि एकिन विवरण भने सङ्कलन हुन सकेको छैन । व्यावसायिक रुपमा पालेका कुखुरा, स्थानीय जातका कुखुरा, […]
"/>चितवन, ९ चैत ०७८ । कुखुरालगायत पक्षीमा रानीखेत र एच नाइन रोगको प्रकोप फैलिएको छ । गत मङ्सिरबाट देशका विभिन्न स्थानमा देखिएको यी रोगको प्रकोप फागुनयता झनै फैलिएको हो । ठूलो सङ्ख्यामा व्यावसायिक कुखुरापालनमा क्षति भएको भए पनि एकिन विवरण भने सङ्कलन हुन सकेको छैन ।
व्यावसायिक रुपमा पालेका कुखुरा, स्थानीय जातका कुखुरा, हाँस, टर्कीलगायतका पक्षीमा रोगको प्रकोप देखिएको छ । पक्षी रोग अन्वेषण प्रयोगशाला भरतपुरका प्रमुख डा चेतनाथ खरेलका अनुसार कुखुरामा रानीखेत, एच नाइनसँगै व्याक्टेरियल र माईक्रोटक्सिन जस्ता समस्या देखिएका छन् । प्रयोगशालामा दैनिक २५ देखि ३० वटा नमूना परीक्षणका लागि आउने गरेको उहाँको भनाइ छ । जसमध्ये ६० प्रतिशत नमूना चितवनका रहेका छन् ।
उहाँले भन्नुभयो, “चैत महिनायता त समस्या झन् बढेर ग¥यो ।” एच नाइन देखिएका खोरमा ५० प्रतिशतसम्म पनि मरेको उहाँको भनाइ छ । एच नाइनसँगै अन्य रोग पनि हुन सक्ने खरेल अनुमान गर्नुहुन्छ । उहाँले थप्नुभयो, “हामी मुख्य रोगको पछि लाग्छौँ, अरु खोज्दैनौँ, त्यसैले मुख्य कारण पहिचान हुन सकेको छैन ।”
यो प्रयोगशालामा देशैभरबाट नमूना आउने गर्दछन् । यी रोग देशभर नै समस्याको रुपमा रहेको जनाइएको छ । भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र भरतपुरका प्रमुख डा दयाराम चापागाईं रानीखेत विभिन्न प्रकारको हुने भए पनि अहिले कडा खालको देखिएको बताउनुहुन्छ । शुरुमा स्थानीय जात र गिरिराज कुखुराबाट रोग आएको भन्दै उहाँले व्यावसायिक नहुँदा र समयअनुसार खोप नलगाएका कारण रोग फैलिएको जानकारी दिनुभयो ।
पालिकाका पशुशाखामार्फत अनुगमन भइरहेको भन्दै उहाँले भन्नुभयो, “अण्डा दिइरहेको कुखुरामा एच नाइन र बढ्दै गरेका कुखुरामा रानीखेतको बढी समस्या देखिएको छ ।” रोग नियन्त्रणका लागि जैविक सुरक्षा आवश्यक भएको भन्दै उहाँले खोरमा पूर्ण रुपमा सरसफाइ, आवतजावतमा कडाइ, नियमित किटनाषक औषधि छर्कन, कुखुरालाई गर्मी भएमा ग्लुकोज र भिटामिन खुवाउन पनि सुझाव दिनुभयो । उहाँले थप्नुभयो “यो भाइरल हो, अरु उपचार छैन ।” सात वटै प्रदेशमा समस्या देखिएको उहाँको भनाइ छ ।
पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष राजेन्द्र लामिछानेले सानो चल्लादेखि प्यारेन्टसम्ममा समस्या देखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “२०÷२५ हजार कुखुरा पालेका फर्ममा पूरै मरेका पनि छन् ।” अण्डा र चल्लालगायत उत्पादन घटेको भन्दै उहाँले बजारमा कुखुराजन्य पदार्थको अभाव सिर्जना हुन थालेको जानकारी दिनुभयो ।
अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष शिवराम केसीले दैनिक ३२ देखि ३४ लाख अण्डा उत्पादन हुँदै आएकोमा रोगका कारण २५ प्रतिशत उत्पादन घटेको बताउनुभयो । धेरैका खोर खाली भएको भन्दै उहाँले कृषकले निकै ठूलो नोक्सान व्यहोर्नुपरेको गुनासो गर्नुभयो ।
पक्षी रोग विशेषज्ञ डा सुविर सिंह ब्रोइलर कुखुरामा रोग देखिएपछि ९५ प्रतिशतसम्म, लेयर्समा २५ प्रतिशतसम्म, प्यारेन्टमा १५ प्रतिशतसम्म र स्थानीय जातमा शतप्रतिशतसम्म कुखुरा मर्ने गरेको बताउनुहुन्छ । झण्डै चार महिना अघि स्थानीय जात, तीन महिना अघि लेयर्स, दुई महिना अघि, ब्रोइलर र गिरिराज हुँदै गत महिनाबाट प्यारेन्ट माउमा समस्या देखिएको उहाँको भनाइ छ । आफूहरुले प्रयोगशालासँग सहकार्य गरेर रोगको कारणको खोजी गरिरहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयका सहप्राध्यापक रहनुभएका सिंह बताउनुहुन्छ । रोग कडा भएर आएको, खोपले काम नगरेको जस्ता बहस चलिरहे पनि वैज्ञानिक कारण के हो भन्नेबारे खोजी गर्नुपर्ने देखिएकाले काम अघि बढाईएको सिंहको भनाइ छ ।
रानीखेत रोग पारामेक्सो प्रजातिको भाइरसका कारण पक्षीमा रोग लाग्ने सरुवा रोग हो । विज्ञका अनुसार यो रोग सङ्क्रमित दाना, पानी, चराचुरुङ्गी र हावा पानीको माध्यमबाट फैलिने गर्दछ । यसले पक्षीको श्वासप्रश्वास र स्नायु प्रणालीमा असर गर्छ, जसले गर्दा सास फेर्न समस्या हुने र चुच्चो र नाकबाट पानीजस्तो बाक्लो पदार्थ निस्कने भएकाले पक्षीमा टाउको झट्कार्ने, घाँटी तान्ने, फनफनी घुम्ने, खुट्टाको पक्षघात हुने, घाँटी बटार्ने, फुल पार्न कम हुनेलगायत लक्षण देखिन सक्छ । एच नाइनको लक्षण पनि रानीखेतसँग मिल्दोजुल्दो हुन्छ । यसले उत्पादन घट्ने र मृत्युदर भने रानीखेतभन्दा कम हुने गर्दछ । रासस