रमेश लम्साल काठमाडौँ, १४ वैशाख ०७९ । के तपाइँ कुरकुरे, चिजबल, लेज जस्ता खानेकुराको सौखिन हुनुहुन्छ ? यदि हुनुहुन्छ भने अब तपाइँले यी अतिरिक्त स्वादयुक्त खानेकुराको लत त्याग्नुपर्ने भएको छ । किनभने यी खानाले तपाइँको स्वास्थ्य त बिगारेकै छन्, देशको आर्थिक स्वास्थ्यमा समेत धक्का दिएको देखिन आएको छ । त्यसैले नेपाल सरकारले अब यी खाद्यवस्तुहरुको […]
"/> कुरकुरे, चिजबलदेखि मोबाइलसम्मको आयातमा प्रतिबन्ध - Line Khabar
Line Khabar
शनिबार, भदौ २९, २०८१ | September 14, 2024
  • होमपेज
  • कुरकुरे, चिजबलदेखि मोबाइलसम्मको आयातमा प्रतिबन्ध

कुरकुरे, चिजबलदेखि मोबाइलसम्मको आयातमा प्रतिबन्ध

कुरकुरे, चिजबलदेखि मोबाइलसम्मको आयातमा प्रतिबन्ध

रमेश लम्साल
काठमाडौँ, १४ वैशाख ०७९ । के तपाइँ कुरकुरे, चिजबल, लेज जस्ता खानेकुराको सौखिन हुनुहुन्छ ? यदि हुनुहुन्छ भने अब तपाइँले यी अतिरिक्त स्वादयुक्त खानेकुराको लत त्याग्नुपर्ने भएको छ । किनभने यी खानाले तपाइँको स्वास्थ्य त बिगारेकै छन्, देशको आर्थिक स्वास्थ्यमा समेत धक्का दिएको देखिन आएको छ । त्यसैले नेपाल सरकारले अब यी खाद्यवस्तुहरुको आयातमा प्रतिबन्ध नै लगाउने निर्णय गरेको छ ।

भन्सार विभागका अनुसार चालु आवको नौ महिनाको अवधिमा मात्रै कूल १२ लाख ९३ हजार ५६ किलो बराबरको कुरकुरे, चिजबल, लेजजस्ता सामग्री आयात भएको पाइएपछि सरकारको आँखा यी पदार्थको आयातमा पुगेको हो । पछिल्लो समयमा देशको आर्थिक अवस्थाबारे विभिन्न प्रश्न उठिरहेका बेला सरकारले आजदेखि लागू हुने गरी ती सामग्री आयातमा प्रतिबन्ध लगाई मुलुकको आर्थिक स्वास्थ्य अवस्था सुधारको पहल थालेको हो ।

विदेशी मुद्राको सञ्चिति ६/७ महिनाको मात्रै आयात धान्न सक्ने अवस्थामा ओर्लेपछि सरकारले यीलगायतका केही विलासिताका वस्तुको आयातमा कडाइ थालेको हो । यसअघि बैंक तथा वित्तीय संस्थाले पनि मोबाइल लगायतका सामग्रीको आयातमा एलसी नखोल्ने निर्णय गरिसकेका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरी उक्त सामग्रीको आयातमा प्रतिबन्ध लगाएको हो । भन्सार विभागका अनुसार बङ्गलादेश, चीन, भारत, इन्डोनेसिया, जापान, दक्षिण कोरिया, मलेसिया, साउदी अरब, ताइवान, अमेरिका र बेलायतबाट चिजबल, लेज, कुरकुरे जस्ता सामग्री आयात भएका छन् ।

त्यस्तै, सरकारले ५८ प्रकारका रक्सी तथा रक्सीजन्य पदार्थको आयातमा समेत प्रतिबन्ध लगाएको छ । नेपालमा चालु आवको नौ महिनामा प्रमुख रुपमा १५ लाख २५ हजार १९३ लिटर मदिरा स्वदेश भित्रिएको छ । त्यसमा बियर बनाउने माल्टदेखि वाइन र ह्विस्की तथा अल्कोहल कन्टेन्ट रहेका छन् । विभागका अनुसार ती सामग्रीको आयात मूल्य रु दुई अर्ब एक करोड ११ लाख ५९ हजार बराबर छ । सरकारले त्यसबाट रु तीन अर्ब ५७ करोड ३८ लाख ६७ हजार बराबरको राजश्व सङ्कलन गरेको छ ।

उद्योग मन्त्रालयका अनुसार चुरोट तथा सुर्तीजन्य वस्तु आयातमा प्रतिबन्ध लागेको सूचनामा उल्लेख छ । चालु आबको नौ महिनाको अवधिमा मात्रै १८ लाख किलो सुर्तीजन्य पदार्थ आयात भएको छ ।

उद्योग मन्त्रालयका अनुसार हिरा (औद्योगिक कच्चापदार्थ बाहेक)का सामग्री आयातमा प्रतिबन्ध लागेको छ । त्यस्तै, ६०० अमेरिकी डलरमाथिको मोबाइल सेटको आयात समेत तत्कालका लागि रोक लगाइएको छ ।

सरकारले ३२ इन्चभन्दा माथिका रङ्गीन टेलिभिजन पनि आयात गर्न नपाउने गरी प्रतिबन्ध लगाएको छ ।

त्यस्तै, जीप, कार र भ्यान आयात गर्न रोक लागेको छ । एम्बुलेन्स र शववाहन बाहेकका कुनै पनि सामग्री आयात गर्न नपाइने मन्त्रालयले प्रकाशित गरेको राजपत्रमा उल्लेख छ ।

त्यसैगरी २५० सिसीभन्दा माथिका मोटरसाइकल, सबै प्रकारका खेलौना, तास आयातमा प्रतिबन्ध लागेको छ । पैठारीमा बन्देज लगाइएका ती वस्तु नेपालस्थित कूटनीतिक नियोगले आफ्नै प्रयोजनका लागि आफैले भने आयात गर्न कुनै बाधा नपर्ने सूचनामा उल्लेख छ ।

यस्तै, मङ्गलबारभन्दा अघिदेखि बैंकिङ माध्यमबाट पैठारीको प्रक्रिया सम्पन्न भइसकेको हकमा यो व्यवस्था लागू नहुने उद्योग मन्त्रालयका सचिव डा गणेशप्रसाद पाण्डेयले जानकारी दिनुभयो । विदेशी मुद्राको सञ्चितिमा चाप पर्दै गएपछि सरकारले अत्यावश्यक बाहेकका सबै सामग्री आयातमा क्रमशः प्रतिबन्ध लगाउँदै आएको छ । अर्थ मन्त्रालयले विलासी सवारी साधनलगायतका सामग्रीको हकमा एलसी नखोल्नसमेत आग्रह गरिसकेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार गत फागुन मसान्तसम्म नेपालको बैंकिङ प्रणालीमा कूल नौ अर्ब ५८ करोड अमेरिकी डलर मौज्दात रहेको छ । चालु आवको आठ महिनामा अमेरिकी डलरको सञ्चितिमा १८.५ प्रतिशतले कमी आएको छ । डलर सञ्चिति ओरालो लागेपछि सरकारले अत्यावश्यक बाहेकका सबै वस्तुको आयातमा रोक लगाउनु परेको जनाएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका