दमौली, १५ साउन ०७९ । तनहुँको देवघाट गाउँपालिकामा अव्यवस्थित बसोबासको व्यवस्थापन तथा सुकुम्बासी जग्गाको तथ्याङ्क सङ्कलनको काम सुरुआत भएको छ । राष्ट्रिय भूमि आयोग तनहुँको समन्वयमा देवघाट–५ बाट शनिबारदेखि जग्गाको नापजाँच थालनी गरिएको हो । उक्त वडाको देउपुर टोल विकास संस्थाबाट जग्गा नापजाँचको कार्य गरिएको गाउँपालिकाका प्रवक्ता एवं वडाध्यक्ष पूर्णबहादुर कुँवरले जानकारी दिनुभयो । यस […]
"/> देवघाटमा जग्गा नापजाँच सुरु - Line Khabar
Line Khabar
शनिबार, भदौ २९, २०८१ | September 14, 2024
  • होमपेज
  • देवघाटमा जग्गा नापजाँच सुरु

देवघाटमा जग्गा नापजाँच सुरु

देवघाटमा जग्गा नापजाँच सुरु

दमौली, १५ साउन ०७९ । तनहुँको देवघाट गाउँपालिकामा अव्यवस्थित बसोबासको व्यवस्थापन तथा सुकुम्बासी जग्गाको तथ्याङ्क सङ्कलनको काम सुरुआत भएको छ । राष्ट्रिय भूमि आयोग तनहुँको समन्वयमा देवघाट–५ बाट शनिबारदेखि जग्गाको नापजाँच थालनी गरिएको हो ।

उक्त वडाको देउपुर टोल विकास संस्थाबाट जग्गा नापजाँचको कार्य गरिएको गाउँपालिकाका प्रवक्ता एवं वडाध्यक्ष पूर्णबहादुर कुँवरले जानकारी दिनुभयो । यस वडामा यसअघि नै भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गरिसकिएकाले पहिलो चरणमा देउपुर टोलबाट जग्गा नापजाँच सुरु गरिएको उहाँले बताउनुभयो ।

सबैभन्दा बाक्लो बस्ती भएकाले यो टोलबाट जग्गा नापजाँचको काम सुरु गरिएको उहाँले बताउनुभयो । यो टोलमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यस्थित बसोबासी गरी तीन सय ५५ जनालाई निवेदन दर्ताको निस्सा वितरण गरिएको छ ।

वडाभर भूमिहीन दलित १९, भूमिहीन सुकुम्बासी ६२ र अव्यवस्थित बसोबासी एक हजार चार सय ५५ जना छन् । “एक महिनाभित्रमा वडाभित्र जग्गा नापजाँच सक्ने लक्ष्यसहित काम सुरु भएको छ”, उहाँले भन्नुभयो । जग्गा नापजाँचका लागि टोली प्रमुखको रूपमा नापी कार्यालय तनहुँका राजीव श्रेष्ठ खटिनुभएको छ ।

जिल्लाको शुक्लागण्डकी नगरपालिका–७ मा पनि यसअघि जग्गाको नापजाँच प्रक्रिया सुरु भएको छ । नापी कार्यालय तनहुँका प्राविधिक श्रेष्ठका अनुसार उक्त वडामा जग्गाको नापजाँच कार्य जारी छ । राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष रामचन्द्र अधिकारीले हालसम्म शुक्लागण्डकी नगरपालिका–७, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका–१ र २, देवघाट गाउँपालिका–५ र व्यास नगरपालिका–१ र २ मा भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीको निवेदनको निस्सा वितरण गरिएको जानकारी दिनुभयो ।

जिल्लाका १० पालिकामा भूमिहीन दलित एक हजार एक सय आठ, भूमिहीन सुकुम्बासी एक हजार आठ सय ७२ र अव्यवस्थित बसोबासी २३ हजार एक सय ३७ गरी २६ हजार एक सय १७ जनाको निवेदन दर्ता भएको छ । यो कामका लागि सबै अधिकार स्थानीय तहमा रहेको बताइएको छ । तथ्याङ्क दर्ता, निस्सा वितरण, सार्वजनिक सूचना जारीपश्चात् उजुरी सङ्कलनलगायतका काम हुने आयोग अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । भूमिहीन सुकुम्बासी र भूमिहीन दलितका हकमा सात दिने र अव्यवस्थित बसोबासीका हकमा १५ दिने सार्वजनिक सूचना जारी हुनेछ ।

तनहुँबाटै सवारी चालक अनुमतिपत्र नवीकरण

यातायात व्यवस्था कार्यालय तनहुँबाट आइतबारदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण सुरु हुने भएको छ । यातायात व्यवस्था कार्यालय कास्कीबाट मात्रै सवारी चालक अनुमति पत्र नवीकरण हुँदै आएकामा आजबाट बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित कार्यालयबाट अनुमतिपत्र नवीकरण सुरु हुन लागेको हो ।

सवारी चालक अनुमतिपत्र जुनसुकै कार्यालयबाट जारी भएको भएता पनि सेवाग्राहीको स्थायी बसोबास गण्डकी प्रदेशभित्र भएको हुनुपर्ने निमित्त कार्यालय प्रमुख विष्णुबहादुर क्षेत्रीले जानकारी दिनुभयो । डिएलआरएस र इडिएलभिआरएसमा रहेको विवरण पूर्णरूपमा मिलेको खण्डमा मात्र सवारी चालक अनुमतिप नवीकरण गर्न सकिने उहाँले बताउनुभयो । उहाँका अनुसार सक्कल सवारी चालक अनुमतिपत्रसहित प्रतिलिपि र नेपाली नागरिकताको प्रतिलिपि समावेश गर्नुपर्नेछ ।

सरकारबाट मान्यताप्राप्त चिकित्सकबाट यातायात व्यवस्था नियमावली, २०५४ को अनुसूची १८ बमोजिमको निरोगिताको प्रमाणपत्र पेश गर्नुपर्ने कार्यालयले जनाएको छ । सवारी चालक अनुमतिपत्र हराएको खण्डमा सम्बन्धित कार्यालयबाट नै प्रतिलिपि लिनुपर्ने जनाइएको छ । सेवाग्राहीको अनुपस्थितिमा वा विदेशमा भएको अवस्थामा अनुमतिपत्र नवीकरण हुनेछैन । सेवाग्राहीको औठाछाप नमिलेको खण्डमा लाइसेन्स नवीकरण नहुने जनाइएको छ । कागजी लाइसेन्सको हकमा स्मार्ट लाइसेन्समा रुपान्तरण भइसकेको हुनुपर्ने कार्यालयले जनाएको छ । कार्यालयले जिल्लाबाटै सवारी साधन दर्तासमेत सुरु गरिसकेको छ । यो कार्यले तनहुँ मात्र नभई गोरखा, लमजुङका सर्वसाधारणलाई पनि सहज हुनेछ । कार्यालयले स्थापनाकालदेखि नै बिलबुक नवीकरणको काम गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका