हरि अधिकारी करिव डेढ वर्ष अघि निर्वाचित सरकारलाई बलपूर्वक हटाएर सत्ता हातमा लिएको दक्षिणपूर्वी एसियाली मुलुक म्यान्मार (बर्मा) को सैनिक सरकार (मिलिटरी जुन्ता) ले एकजना पूर्वसांसद सहित ४ जना लोकतन्त्रवादी नेताहरूलाई मृत्युदण्ड दिएको छ। प्रेसमाथि कठोर नियन्त्रण कायम राखिएको म्यान्मारमा सरकारद्वारा गरिएको यो नृशंस हत्याको दुखदायी समाचार त्यहाँ अझै पनि सक्रिय रहेका थोरै अन्तर्राष्ट्रिय सञ्चार […]
"/>हरि अधिकारी
करिव डेढ वर्ष अघि निर्वाचित सरकारलाई बलपूर्वक हटाएर सत्ता हातमा लिएको दक्षिणपूर्वी एसियाली मुलुक म्यान्मार (बर्मा) को सैनिक सरकार (मिलिटरी जुन्ता) ले एकजना पूर्वसांसद सहित ४ जना लोकतन्त्रवादी नेताहरूलाई मृत्युदण्ड दिएको छ। प्रेसमाथि कठोर नियन्त्रण कायम राखिएको म्यान्मारमा सरकारद्वारा गरिएको यो नृशंस हत्याको दुखदायी समाचार त्यहाँ अझै पनि सक्रिय रहेका थोरै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमध्ये एक बीबीसी रेडियोले गत सोमबारको प्रातकालीन समाचार बुलेटिनमा प्रसारण गरेको थियो।
बर्मेली सैनिक जुन्ताले ती ४ जना विपक्षी नेताहरूलाई कुन कारागारमा फाँसीमा झुन्ड्याइएको थियो भन्ने कुराको जानकारी गराएको छैन तापनि फाँसी दिइएकाहरूका आफन्तहरूलाई राजधानी याङ्गुनको कुख्यात इन्सेन कारागारको गेट अगाडि जम्मा हुने आदेश जारी गरिएकोले उनीहरूलाई त्यही कारागार परिसरभित्रै फाँसीमा झुन्ड्याइएको हुनु पर्दछ भन्ने अनुमान गरिएको छ। फाँसीमा चढाइएका नेताहरूका आफन्तहरूले उनीहरूको ‘कि लास कि सास’ देखाउन माग गर्दै म्यान्मार प्रशासनलाई चिठी बुझाएकाले आशा गरौँ गोप्य ढंगले दिइएको त्यस निर्मम फाँसीको त्यस घटनाबाट रहस्यको पर्दा चाँडै खुल्नेछ।
सन् २०२१ को फेब्रुअरी महिनामा बुट र बन्दुकका जोरमा निर्वाचित संसद् र त्यसबाट निसृत जनअनुमोदित प्रतिनिधिमूलक सरकारलाई अपदस्थ गरि कठोर सैनिक शासन चलाइरहेको सैनिक जुन्ताले सत्ता कब्जा गरेको समय (फेब्रुअरी २०२१) मा पनि आफ्नो विरोधमा उत्रिएका निहत्था जनतामाथि क्रूरतम दमनचक्र चलाएको थियो। त्यस सैनिक कूदेखि यता बर्मेली सेनाले करिव २२ सय जना निर्दोष नागरिकहरूको हत्या गरेको छ भने करिव १५ हजारलाई पक्रेर थुनामा राखेको छ भन्ने तथ्यांक स्वतन्त्र पर्यवेक्षकहरूले सार्वजनिक गरेका छन्। बन्दी बनाइकाहरूमध्ये धेरैको अवस्था कस्तो छ? तिनीहरू कहाँ छन् भन्ने बारेमा कुनै पत्यारलाग्दो सूचना ती राजनीतिक कैदीहरूका आफन्तहरूले पाउन सकेका छैनन्। ती मध्ये कतिजना मारिइसकेका वा सैनिक सत्ताले दिएको अमानवीय यातनाका कारण विक्षिप्त बन्न पुगेका छन् भन्ने कुराको तथ्यपरक जानकारी पनि कसैसँग छैन।
एन एल डी प्रमुख तथा विश्वप्रसिद्ध बर्मेली नेतृ आङ सान सु की समेत प्रतिपक्षका सबैजसो नेताहरू जेलमा कोचिएका वा घरमै नजरबन्द गरिएकाले आजको समयमा त्यो बुद्धमार्गी बहुल मुलुक एउटा ठूलो कारागारमा परिणत भएको छ। कुनैबेला चौबीसै घण्टा बुद्ध वाणी घन्किएर शान्ति र सद्भावको सन्देश प्रवाह गरिरहने त्यो प्यागोडाहरूको देश अहिले आएर आफ्ना निर्दोष नागरिकहरूको रगतको आहालमा डुब्न पुगेको छ। राजनीतिक दलहरूमाथि प्रतिबन्ध लगाइएको छ। कठोर सेन्सरसिपका कारण त्यहाँका स्वतन्त्र समाचार संस्थाहरू बन्द भइसकेका छन् भने त्यहाँ प्रतिपक्षी आवाज घन्किने सम्भावनाका सबै ढोकाहरू थुनिएका छन्। आफ्नो तानाशाही मनसुवामाथि प्रश्नचिह्न लाग्नसक्ने डरले बर्मेली जुन्ता सरकारले त्यस देशलाई गणतन्त्र चीनबाहेक बाँकी विश्वबाट अलगथलग पारेको छ। चीनको लाल तानाशाहीले भने आफ्नो चरित्र मिल्ने भएर नै होला, बर्मेली जुन्तालाई अघोषित सहयोग गरिरहेको कारण जुन्ता चीनप्रति कृतज्ञ र वफादार दुवै छ।
यस पटक बर्मेली सैनिक सरकारको क्रूरताको सिकार हुनेमा पूर्वसांसद एवं लोकप्रिय हिपहप गायक फो जेआ थ छन् जो विख्यात लोकतन्त्रवादी नेतृ तथा सैनिक कू हुनुभन्दा पहिले सत्तामा रहेको नेशनल लिग फर डिमोक्रेसी (एन एल डी) प्रमुख आङ सान सु कीका निकटतम सहयोगी थिए। उनीसँगै विख्यात लोकतन्त्रवादी नेता को जिम्मी र दुई जना छात्र नेता ल्हा म्यो आङ र आइ थुरा जलाई पनि फाँसी दिइएको छ। जुन्ता सरकारको मुखपत्र ‘ग्लोबल न्युज लाइट अफ म्यान्मार’ का अनुसार पूर्वसांसद फ्यो जेआ थ र को जिम्मीलाई आतङ्कवादी गतिविधि गरेको आरोपमा मृत्युदण्ड दिइएको हो भने ती दुई छात्र नेताहरूलाई भने उनीहरूले सरकारी जासूस भएको आशङ्कामा एक जना महिलाको हत्या गरेको अभियोगमा फाँसी दिइएको हो।
वास्तवमा ती ४ लोकतन्त्रवादी नेताहरूलाई फाँसी दिइएको घटनापछाडिको सत्य जुन्ता सरकारले छाप्ने त्यस मुखपत्रले दावी गरेजस्तो सरल र प्रष्ट भने बिल्कुलै छैन। म्यान्मारमा सन् १९८८ पछि वा चौंतीस वर्षको अन्तरालमा दिइएको मृत्युदण्डको आदेश स्वतन्त्र न्यायालयबाट पारदर्शी किसिमको बहस, पक्षविपक्षको जिरह पछि, न्यायको तराजुमा राम्रोसँग तौलिएर गरिएको थिएन। यस मामिलामा त सत्तासीन सैनिक सरकार आफैँ उजुरीकर्ता, आफैँ अभियोजन पक्ष र निर्णायक पनि आफैँ बनेको थियो। फाँसीको सजाय सुनाउने अदालती आदेशलाई चुनौती दिँदै ती ४ प्रतिपक्षी नेताहरूलाई जुन अदालतमा जान भनिएको थियो त्यो कुनै सिभिल कोर्ट नभएर सैनिक अदालत थियो। त्यसैले ती ४ नेताहरूलाई दिइएको फाँसीलाई कानूनसम्मत न्यायिक दण्ड थियो भनेर मान्न कदापि सकिँदैन।
करिव डेढ वर्षदेखि निरंकुश तानाशाही चलाइरहेको बर्मेली सैनिक सरकारद्वारा मच्चाइएको यो हत्याकाण्डको विभिन्न अन्तर्राष्ट्रिय एजेन्सीहरूले निन्दा गरेका छन्। जुन्तासँग नैतिक लडाइँ लडिरहेको, सैनिक कूको लगत्तै गठन गरिएको छायाँ म्यान्मारी सरकारले मृत्युदण्डको कडा शब्दमा निन्दा गरेको छ। मुलुकका कतिपय लोकतन्त्रवादी नेताहरू, विद्रोही समूहका प्रतिनिधिहरू र अपदस्थ एन एल डीका सदस्यहरू समावेश भएको म्यान्मारी छायाँ सरकारले बर्मेली जनतामाथि अन्याय र अत्याचार गर्दै आएको हत्यारा जुन्ता सरकारलाई त्यसले गरेको मानवताविरुद्धको अपराधका लागि अन्तर्राष्ट्रिय समुदायले कडा भन्दा कडा सजाय गर्नुपर्ने दावी गरेको छ। अहिलेको विश्व परिस्थितिमा म्यान्मारी छायाँ सरकारको त्यो अपील अरण्यरोदन मात्र साबित हुने कुरामा भने कुनै शंका छैन।
शक्तिसम्पन्न स्थायी समिति सदस्यहरूको हैकमवाद र दादागिरीका कारण निरीह, लाचार र पंगु बन्न पुगेको संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसले पनि म्यान्मारमा ती ४ लोकतन्त्रवादी नेताहरूलाई बडो निर्ममताका साथ दिइएको फाँसीको भर्त्सना गरेका छन्। यस प्रसङ्गमा महासचिव गुटरेसले जारी गरेको वक्तव्यमा भनिएको छ- “मृत्युदण्डको सजायले कुनै पनि व्यक्तिको जीवन, उसको स्वतन्त्रता र सुरक्षासम्बन्धी हक-अधिकारको निर्मम हनन गरेको हुन्छ।” महासचिव गुटरेसलाई पछ्याउँदै दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सहयोग संगठनको वर्तमान अध्यक्ष राष्ट्र क्याम्बोडियाले पनि त्यो मृत्युदण्डको निन्दा गरेको अपुष्ट समाचारमा जनाइएको छ। तर खेदको कुरा विश्व मानवतालाई लल्कार्दै बर्मेली जुन्ताले खुलेआम जसरी गैरन्यायिक हत्या गरेको छ त्यसको विरोधमा संसारभरिका लोकतन्त्र र मानव अधिकारका पक्षधर अभियानकर्ताहरू जुट्नु पर्ने थियो। त्यो भने हुन सकेको छैन। म्यान्मारको नजिकका २ ठूला राष्ट्र चीन र भारतले जुन्तालाई अभयदान दिएका छन् जस्तो छ। क्षेत्रीय शक्तिराष्ट्रहरू नै निमुखा जनताको पीडाप्रति संवेदनहीन भएपछि जाने ठाउँ कहाँ रहन्छ र?
आवरणः फाँसीमा झुन्ड्याइएका पूर्वसांसद एवं लोकप्रिय हिपहप गायक फो जेआ थ, लोकतन्त्रवादी नेता को जिम्मी , दुई जना छात्र नेता ल्हा म्यो आङ र आइ थुरा ज। तस्बिर सौजन्यः म्यानमार नाव
श्रोत: आइएनएस-स्वतन्त्र समाचार