काठमाडौँ, १० जेठ (०७८) । सत्तारुढ नेकपा (एमाले) को आजको स्थायी कमिटी बैठकले पार्टीका नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, भीमबहादुर रावलसहित ११ जना नेता तथा निवर्तमान सांसदलाई पार्टी सदस्यबाट निष्काशन गर्ने निर्णय गरेको छ । पार्टीका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्ने र विपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन दलीय प्रणाली […]
"/> नेपाल, खनालसहित एमालेका ११ नेता पार्टी सदस्यताबाटै निष्काशित - Line Khabar
Line Khabar
बुधबार, भदौ २६, २०८१ | September 11, 2024
  • होमपेज
  • नेपाल, खनालसहित एमालेका ११ नेता पार्टी सदस्यताबाटै निष्काशित

नेपाल, खनालसहित एमालेका ११ नेता पार्टी सदस्यताबाटै निष्काशित

सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

नेपाल, खनालसहित एमालेका ११ नेता पार्टी सदस्यताबाटै निष्काशित

काठमाडौँ, १० जेठ (०७८) । सत्तारुढ नेकपा (एमाले) को आजको स्थायी कमिटी बैठकले पार्टीका नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, भीमबहादुर रावलसहित ११ जना नेता तथा निवर्तमान सांसदलाई पार्टी सदस्यबाट निष्काशन गर्ने निर्णय गरेको छ ।

पार्टीका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्ने र विपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन दलीय प्रणाली विपरीत हस्ताक्षर गरेकामा सोधिएको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि कारबाही गरिएको हो । कारबाही गरिएका अन्य नेतामा मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पाकुमारी कर्ण, कलिला खान, निरादेवी जैरु, लक्ष्मीकुमारी चौधरी र कल्याणीकुमारी खड्का हुनुहुन्छ ।

उहाँहरुलाई पार्टीविरूद्ध गतिविधि गरेकामा सोधिएको स्पष्टीकरण चित्तबुझ्दो नदिएकाले पार्टीबाट निश्काशन गर्ने निर्णय भएको एमाले प्रचार विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो । एमालेभित्रको विवाद मिलाउन कार्यदल गठन गरी छलफल भइरहेका बेला विकसित राजनीतिक घटनाक्रमले पुनः विवाद भएको हो । यसअघि नेता नेपालसहित चार नेतालाई गरिएको निलम्बन फुकुवा गरेर आपसी वार्तापछि कार्यदल गठन भएको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकले घनश्याम भुसाल, सुरेन्द्रप्रसाद पाण्डे, भवानी खापुङ, यज्ञराज सुनुवार, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, सोमप्रसाद पाण्डेय, मेटमणि चौधरी, झपट रावल, दीपकप्रकाश भट्ट र नारायण खतिवडासहित १२ जनालाई स्पष्टीकरण सोध्ने निर्णय पनि गरेको छ । यही जेठ ७ गते संविधानको धारा ७६ (५) बमोजिम देउवाको नेतृत्वमा सरकार गठन गर्न एमालेका ती निवर्तमान सांसदले हस्ताक्षर गरेका थिए ।

एमालेका अध्यक्ष ओलीले पनि सोही धाराबमोजिम आफूलाई प्रधानमन्त्रीका लागि एमाले र जनता समाजवादी पार्टीका तर्फबाट दाबी गर्नुभएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै दाबी स्वीकार गर्न सकिने अवस्था नभएको निर्णय गरेपछि सरकारको सिफारिशमा जेठ ८ गते आगामी कात्तिक २६ र मङ्सिर ३ गतेका लागि मध्यावधि निर्वाचन घोषणा भएको थियो ।

सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

नेकपा (एमाले) को आज बसेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । प्रदेशमा नेकपा (माओवादी केन्द्र) र एमालेको सयुंक्त सरकारको नेतृत्व माओवादी केन्द्रले गरेको छ । सुदूरपश्चिममा माओवादी केन्द्रका तर्फबाट त्रिलोचन भट्ट मुख्यमन्त्री हुनुहुन्छ ।

प्रदेशसभामा सबैभन्दा ठूलो दल एमालेका २५ सदस्य छन् । यस्तै सरकारको नेतृत्व गरेको माओवादी केन्द्रका १३ जना छन् । माओवादीले एक सदस्यलाई यसअघि नै कारवाही गरेर हटाइसकेको छ । कांग्रेसका १२ सदस्यले प्रतिनिधित्व गर्दा जनता समाजवादी पार्टी नेपालका दुई सदस्य छन् ।

तत्काल कायम रहेको ५२ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न २७ सदस्य आवश्यक पर्छ । माओवादी केन्द्र, कांग्रेस र जसपा मिलेमा सरकारलाई सजिलो पर्छ । केन्द्रमा जसपा प्रधानमन्त्री केपी ओलीको सरकारकै निरन्तरताको चाहनामा रहेको हुनाले एमालेबाहेक माओवादीले सरकार बनाउन सक्ने सम्भावना कम छ ।

एमालेबाट सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले आधिकारिक जानकारी आएपछि छलफल गरिने जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका