चितवन, १७ माघ ०७७/ प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरिएकै मितिमा निर्वाचन हुने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनद्वारा आज भरतपुरमा आयोजित जनसभामा उहाँले घोषित निर्वाचन मिति तलमाथि नपर्ने बताउनुभयो । कतिपयले निर्वाचन हुँदैन भनेर भ्रम फिजाएको बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “यो चुनावको घोषणा चुनाव गर्नका लागि होइन, अल्मल्याउनका लागि गरिएको हो भनेर […]
"/> घोषणा गरिएकै मितिमा निर्वाचन हुन्छ : प्रधानमन्त्री ओली - Line Khabar
Line Khabar
शनिबार, भदौ २९, २०८१ | September 14, 2024
  • होमपेज
  • घोषणा गरिएकै मितिमा निर्वाचन हुन्छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली चितवनमा

घोषणा गरिएकै मितिमा निर्वाचन हुन्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्रीद्वारा सिटीहलको शिलान्यास, पुल्चोक–गोन्द्राङ छ लेन सडक स्तरोन्नतिको शुभारम्भ

घोषणा गरिएकै मितिमा निर्वाचन हुन्छ : प्रधानमन्त्री ओली

चितवन, १७ माघ ०७७/ प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरिएकै मितिमा निर्वाचन हुने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनद्वारा आज भरतपुरमा आयोजित जनसभामा उहाँले घोषित निर्वाचन मिति तलमाथि नपर्ने बताउनुभयो ।

कतिपयले निर्वाचन हुँदैन भनेर भ्रम फिजाएको बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “यो चुनावको घोषणा चुनाव गर्नका लागि होइन, अल्मल्याउनका लागि गरिएको हो भनेर भनेका छन्, तिनीहरु अल्मलिँदै गरुन् ।” उहाँले जोड दिँदै भन्नुभयो, “चुनाव हुन्छ, भनेकै मितिमा, तोकिएकै मितिमा, घोषणा गरिएकै मितिमा हुन्छ, तपाईँहरु ढुक्क रहनुहोस् ।”

अब कुनै गल्ती नगरीकन जनताको निम्ति काम गर्ने, देशका निम्ति काम गर्नेलाई छान्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “चुनावमा साइनो सम्बन्ध देशभित्र भएका, देश र जनताको आदेश र हितमा काम गर्नेलाई छानेर पठाउनुपर्छ ।” नाभी विदेशमा गाडिएकाहरु र नाभी अन्तै जोडिएकालाई अब चुनावमा छान्न नहुने उहाँको भनाइ थियो ।

देशको, राष्ट्रियताको र स्वाधिनताको सही अर्थमा रक्षा आफू र आफ्नो पार्टीले गर्ने भन्दै उहाँले भन्नुभयो, “निरंकुश राजतन्त्र, पञ्चायती तानाशाही र कुनै पनि अवस्थामा घुँडा टेकिएन । नेल, हत्कडी लगाएर गोलघरमा थुन्दा घुँडा टेकिएन, अब घुँडा टेक्नुपर्ने अवस्था छैन । स्वाभिमानलाई माथि उठाइन्छ ।”

नयाँ युगमा नेपाल प्रवेश गरेको भन्दै प्रधानमन्त्री ओलीले अगाडि भन्नुभयो, “एउटा नयाँ युगको प्रारम्भ भएको छ, अनेक क्षेत्रमा नयाँ युगको प्रयोग गरेका छौँ, आत्मविश्वासका साथ देश विकास गर्ने महान् अभियानमा जुटेका छौँ ।”

माडीको अयोध्यापुरीमा राम मन्दिर निर्माणका लागि गुरुयोजना बन्दै गरेको भन्दै उहाँले भन्नुभयो, “रामको भव्य प्रतिमूर्ति तयार भइसकेको छ, सीताको बनिरहेको छ, अब लक्ष्मण र हनुमानको पनि बन्छ ।” अर्को सालको रामनवीमा राम जन्मभूमि अयोध्यापुरीमा भव्य ढङ्गले प्राणप्रतिष्ठा गर्ने उहाँले बताउनुभयो । अयोध्यापुरी अब विश्वका हिन्दूहरु, संस्कृतविद्हरु, पुरातत्वविद्हरु, सभ्यताविद्हरुको गन्तव्य स्थान हुने प्रधानमन्त्री ओलीको भनाइ छ । उहाँले भन्नुभयो, “यो पर्यटकीयस्थल बन्नेछ, धेरै तीर्थालुको गन्तव्य बन्नेछ ।”

नवलपरासीको दाउन्नेबाट मकवानपुरसम्मको चार हजार ७८८ वर्गकिलोमिटर क्षेत्रलाई समेटेर चितवन भ्यालीको रूपमा विकास गरिने उहाँले जानकारी दिनुभयो । यसका लागि गुरुयोजनासहित काम अघि बढ्ने उहाँको भनाइ छ । उहाँले निकुञ्जको संरक्षणसँगै वन्यजन्तु र मानवबीचको द्वन्द्वलाई कम गर्ने पनि बताउनुभयो ।

नेकपा नफुटेको भन्दै उहाँले केही मान्छे बाहिरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “पार्टी शुद्धीकरणको आवश्यकता थियो, अब पार्टी एकजुट भएर अघि बढ्छ ।” देशलाई अल्पविकसितबाट विकासशील राष्ट्रमा लैजाने बताउँदै उहाँले भन्नुभयो, “देशको विकास तीव्रगतिले अघि बढेको छ ।” विश्वका थोरै राष्ट्रले मात्रै शुरु गरेको कोभिड–१९ विरुद्धको खोप नेपालमा शुरु भइसकेको उहाँले बताउनुभयो । अग्रपङ्क्तिमा रहेकाहरुलाई अहिले खोप लगाइएको बताउँदै उहाँले क्रमशः सन् २०२१ भित्र सबैलाई खोप लगाइसक्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “सम्पूर्ण जनतालाई खोप लगाइसकेर कोभिड–१९ लाई देशबाट भगाउँछौँ, बाँकी विश्वले पनि भगाउँछ भन्ने हामीलाई विश्वास छ ।”

कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले संसद् विघटन संवैधानिक काम भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो संवैधानिक हो भन्ने कुराको जवाफ तपाईँ जनताले दिनुभएको छ, फुटका विरुद्ध जनताले एकताको सन्देश दिनुभएको छ ।” उहाँले आफूहरु गुटको पक्षमा नभएर पार्टीको पक्षमा रहेको बताउनुभयो । पार्टीले अहिले शुद्धीकरण अभियान अघि बढाएको भन्दै उहाँले पार्टीभित्र अवसरवाद, विकृतिविरुद्धको शुद्धीकरण भइरहेको बताउनुभयो ।

आम नागरिक राष्ट्रिय एकताको पक्षमा भइरहँदा अवसरवादीहरु पार्टीबाट किनारा लागेको उहाँको भनाइ थियो । उहाँले ‘उनीहरुले देशमा अस्थिरता चाहन्छन्, तर हामी देशलाई स्थायित्व दिन चाहन्छौँ’ भन्नुभयो । उहाँले भन्नुभयो, “स्थायित्वबिना प्रगति सम्भव छैन, समाजवाद स्थापना गर्न सक्दैनौँ ।” पार्टी छाडेर गएकाहरुलाई आफ्ना गल्ती र कमजोरी स्वीकारेर पार्टीमा फर्किन आग्रह गर्दै गृहमन्त्री थापाले भन्नुभयो, “आउनुहोस् पार्टीमा फर्किनुहोस्, जनता एकता चाहन्छन्, विकास चाहन्छन् ।”

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सरकारले समृद्धिको यात्रालाई अघि बढाएको उल्लेख गर्दै भन्नुभयो, “यो सरकारले विकास मात्रै गर्यो, लुटतन्त्र र भ्रष्टाचार गरेन, हामी कहिल्यै चुकेनौँ ।” ‘समृद्ध नेपाल, सुखी नेपाली’ आकांक्षा पूरा गर्नका लागि प्रधानमन्त्री लागिरहनुभएको उहाँको भनाइ थियो ।

कार्यक्रममा शहरी विकासमन्त्री प्रभु साहले चितवनलाई समृद्धिको मोडेलको रूपमा विकास गर्ने बताउनुभयो । चितवनको छुट्टै पहिचान रहेको बताउँदै उहाँले नेपालको समृद्धिको यात्रामा पनि यसलाई मोडेलको रूपमा अगाडि बढाउने बताउनुभयो । उहाँले चितवनका नेता भनेर चिनिनेहरुले चितवनको छवि धमिल्याउन खोजेको भन्दै भन्नुभयो, “यहाँका जनताले त्यो गर्न दिने छैनन् ।” उहाँले चितवनको धर्तीबाट देश र दुनियाँलाई भ्रमित पार्ने कोसिस भएको भन्दै भन्नुभयो, “त्यस्तालाई तपाईँहरुले जवाफ दिनुपर्छ ।”

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियान शुरु भइसकेको बताउँदै भन्नुभयो, “देश विकासका लागि ठूल्ठूला योजना शुरु गरिएको छ ।” चितवनको विकासका लागि सरकारले काम गरिरहेको बताउँदै उहाँले आज मात्रै पुल्चोक–गोन्द्राङ छ लेन सडक र सिटीहल शिलान्यास भएको बताउनुभयो । उहाँले चितवनमा भरतपुर महानगरभित्र रिङरोड, चौबीसकोठी–गोलाघाट सहायक राजमार्ग, हुलाकी सडक र पुलहरू बन्दै गरेको बताउनुभयो । देशमा प्रतिदिन दुई किलोमिटर नयाँ सडक बनिरहेको भन्दै उहाँले भन्नुभयो, “देशभर १० वटा सिक्नेचर पुल बन्न लागेको छ, त्यसमध्ये एउटा यही नारायणीमा बन्छ ।”

सो अवसरमा नेकपा वाग्मती प्रदेश कमिटी अध्यक्ष एवं पूर्वमन्त्री आनन्द पोखरेल, भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष एवं नेकपा केन्द्रीय सदस्य देवीप्रसाद ज्ञवाली, नेकपा प्रदेश कमिटी सदस्य प्रकाश खनाल ‘शैलेस, नेकपा महानगर कमिटी अध्यक्ष रामप्रसाद न्यौपानेलगायतले विद्यमान अन्योलता छिचोल्न निर्वाचनमै जानुपर्ने धारणा राख्नुभएको थियो ।

प्रधानमन्त्री ओलीद्वारा सिटीहलको शिलान्यास

प्रधानमन्त्री केपी शर्मा ओलीले भरतपुरमा निर्माण गर्न लागिएको सिटीहलको शिलान्यास गर्नुभएको छ । भरतपुर महानगरपालिका–१० स्थित बाइपास सडक नजीक सिटीहलको उहाँले आज शिलान्यास गर्नुभएको हो ।

शिलान्यास समारोहमा शहरी विकास मन्त्रालयका सचिव डा रमेशप्रसाद सिंहले आयोजनाका बारेमा जानकारी गराउनुभएको थियो । देशको मध्यभागमा रहेर पनि ठूलो सभासमारोह आयोजना गर्न हलको अभाव भएपछि सरकारले सिटीहल निर्माण शुरु गरेको हो । सिटीहल निर्माणपछि यसको व्यवस्थापन भरतपुर महानगरपालिकाले गर्नेछ ।

शहरी विकास मन्त्रालयले आयोजना गरेको उक्त शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीसहित गृहमन्त्री रामबहादुर थापा बादल, शहरी विकासमन्त्री प्रभु साह, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललगायत सहभागी हुनुभएको थियो । सो अवसरमा प्रधानमन्त्री ओलीले सिटीहलको शिलान्याससँगै ताम्रपत्र अनावरण गर्नुभएको थियो ।

कार्यक्रममा श्रीराम जानकी बालिका आश्रमका बालिकाले स्वस्तिवाचन गरेका थिए । सिटीहल निर्माणका लागि सङ्घीय सरकारअन्तर्गतको शहरी विकास डिभिजन कार्यालय चितवन र इन्डो सगुन रौताहा जेभी रुपन्देहीबीच सम्झौता भएको छ । जिल्ला समवन्य समिति पछाडि रहेको चार बिघा चार कट्ठा जग्गामा सिटीहल निर्माण गर्न लागिएको हो ।

मूल्य अभिवृद्धि करबाहेक बोलपत्र रकम रु एक अर्ब छ करोडको रहेकामा रु ७७ करोड ७७ लाखमा निर्माण कम्पनीसँग सम्झौता भएको हो । सभागृहमा मुख्य अडिटोरियम ब्लकमा दुई हजार जना अट्ने सुविधासम्पन्न सभाहल हुनेछ । सघन शहरी तथा भवन निर्माण आयोजना भरतपुरका प्रमुख प्रकाश अर्यालका अनुसार ३०० क्षमताको कन्फरेन्स हल रहनेछ । विशिष्ट व्यक्तिका लागि छुट्टै कक्ष हुनेछ । दुईवटा भर्याङ, दुईवटा लिफ्ट, प्रवेशद्वार, आकर्षक स्टेज, रिहर्सल कक्ष रहने छन् । मुख्य ब्लक सात हजार वर्गमिटरमा हुने उहाँले जानकारी दिनुभयो । सभागृहमा प्रशासनिक, पुस्तकालय, सूचना प्रविधि, अतिविशिष्ट कक्ष, फुड ल्यान्ड, बगैँचा हुनेछ । सवारी पार्किङका लागि २५७ गाडी र ३१७ मोटरसाइकल एवं साइकल अट्ने पार्किङस्थल रहनेछ ।

उच्चस्तरका निर्माण सामग्री र आधुनिक प्रविधिको प्रयोग गरी बनाउन लागिएको यो सिटीहल देशकै नमूना हुने अर्याल बताउनुहुन्छ । उहाँले भन्नुभयो, “हालसम्म यति सुविधासम्पन्न र सुन्दर सिटीहल नेपालमा बनेको छैन ।” दुई वर्ष तीन महिनाभित्रमा काम सम्पन्न गर्ने गरी मङ्सिर १८ गते सम्झौता भएको हो । सम्झौता भएलगत्तै कामलाई तीव्रता दिइएको छ । हाल जमीनमुनिको काम भइरहेको छ । सिटीहल बनेसँगै राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका ठूलादेखि सानासम्मका कार्यक्रम यहाँ गर्न सकिनेछ । देशको मध्यभागमा रहेको र सबै ठाउँबाट यातायातको सहज पहुँच भएका कारण राजनीतिक दल, तिनका भ्रातृ संस्था, विभिन्न सङ्घसंस्थालगायत कार्यक्रम गर्न यहाँ सहज हुनेछ ।

पुल्चोक–गोन्द्राङ छ लेन सडक स्तरोन्नतिको शुभारम्भ

प्रधानमन्त्री केपी शर्मा ओलीले भरतपुरस्थित पुल्चोक–गोन्द्राङ छ लेन सडक स्तरोन्नति कार्यको शुभारम्भ गर्नुभएको छ । भरतपुर महानगरपालिका– १० स्थित विमानस्थल अगाडि आज प्रधानमन्त्री ओलीले सो कार्यको शुभारम्भ गर्नुभएको हो । उहाँले सोही स्थानमा निर्माण गरिएको शिलालेखको पनि अनावरण गर्नुभएको हो ।

सो अवसरमा सडक विभागका महानिर्देशक केशवकुमार शर्माले सडक आयोजनाका विषयमा विस्तृत जानकारी गराउनुभएको थियो । पूर्वपश्चिम राजमार्गको भरतपुर महानगरपालिकाभित्र पर्ने सडकलाई छ लेनमा विस्तार गर्न लागिएको हो । शहरी सौन्दर्यकरणलाई समेत ख्याल गरी ६.०८ किलोमिटर लामो सडक विस्तारको काम थालिएको सडक डिभिजन कार्यालय चितवनले जनाएको छ ।

सडक निर्माणको जिम्मा इण्डो सगुन जेभी बुटवलले पाएको छ । दुई वर्ष चार महिनाभित्र काम सम्पन्न गर्ने गरी सम्झौता भएको छ । गत असोज २६ गते भएको सम्झौताअनुसार ठेकेदार पक्षले विसं २०७९ फागुन १० गते निर्माणको काम गरिसक्नुपर्छ । सम्झौतापछि ठेकेदार कम्पनीले काम गरिरहेको छ । डिभिजनल प्रमुख कृष्णराज अधिकारीका अनुसार रु एक अर्ब १२ करोड लागतमा स्तरोन्नति गर्न लागिएको हो ।

टिकौली वन छेउ गोन्द्राङदेखि केन्द्रीय बस टर्मिनल चोकसम्म अहिले दुई लेन रहेको सडक केन्द्रीय बस टर्मिनलदेखि रिजालचोकसम्म चार लेन छ । यो सडकमा अहिले चौबिसकोठी, भरतपुर आरोलो र बजार क्षेत्रमा चार लेन छ । दुई लेन भएको स्थानमा थप चार लेन र चार लेन भएको स्थानमा थप दुई लेन थपिने अधिकारीले जानकारी दिनुभयो । सडक छेउका अतिक्रमित घरटहरा भत्काउनेदेखि बाटोको साइड सफा गर्ने काम भइरहेको छ भने ५० मिटर चौडाइ रहने छ लेनको सडक क्षेत्रमा फुटपाथ, ढल, सर्भिस लेन, स्मार्ट लाइट जडान र बिजुली भूमिगत गरिँदै छ । शहरी सौन्दर्यतालाई समेत ख्याल गरेर सडक स्तरोन्नति गरिँदै छ ।

सडकको दायाँबायाँ ११.५ र ११.५ मिटरको कालोपत्र हुनेछ । त्यसका बीचमा तीनदेखि चार मिटरको मेडियन, मुख्य सडकको छेउमा नाली र त्यसभन्दा बाहिर ५.५ मिटरदेखि छ मिटरसम्मको सर्भिस लेन दुवैतिर हुने अधिकारीले जानकारी दिनुभयो । त्यसभन्दा पर तीनदेखि चार मिटरको फुटपाथ हुनेछ । बीचको मेडियन र सर्भिस लेनको डिजाइन तीन खण्डमा फरकफरक रहेको छ । पुल्चोकदेखि लायन्सचोकसम्म, लायन्सचोकबाट क्याम्पस गेट र क्याम्पस गेटबाट गोन्द्राङसम्म अलगअलग डिजाइन भएकाले त्यसमा केही फरक हुनेछ । बीचको भागमा हरियालीसहितका फूल रोपिनेछ ।

यो क्षेत्र जिल्लाको घनाबस्ती र बजार रहेको क्षेत्र हो । यसकै आसपासमा अधिकांश सरकारी कार्यालय रहेका छन् । बाइपास सडक र ग्रामीण क्षेत्रबाट आएका सडक यहीँ आएर जोडिएका छन् । भरतपुर विमानस्थल यसै सडकसँग जोडिएको छ । विस्तारका क्रममा रहेको नारायणगढ–बुटवल सडकखण्डसँगै यसलाई पनि स्तरोन्नति गर्न लागिएको हो । यस क्षेत्रको सडक साँघुरो हुँदा दुर्घटना हुने गरेका छन् । समाचार स्रोत : रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका