हेटौंडा, २४ वैशाख (०७८) । राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनका लागि तीन जनाले उम्मेदवारी दर्ता गराउनु भएको छ । नेकपा एमालेको तर्फबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’, स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को तर्फबाट कृष्णबहादुर तामाङले उम्मेदवारी दर्ता गराउनु भएको हो । हेटौंडा –५ मा रहेको वाग्मती प्रदेश निर्वाचन आयोगको कार्यालय पुगेर […]
"/> एमालेबाट गृहमन्त्री थापा, स्वतन्त्र उम्मेदवार डा. देवकोटा र नेमकिपाका कृष्ण बहादुर तामाङको उम्मेदवारी दर्ता - Line Khabar
Line Khabar
बिहिबार, भदौ २७, २०८१ | September 12, 2024
  • होमपेज
  • एमालेबाट गृहमन्त्री थापा, स्वतन्त्र उम्मेदवार डा. देवकोटा र नेमकिपाका कृष्ण बहादुर तामाङको उम्मेदवारी दर्ता
वाग्मतीमा राष्ट्रियसभा सदस्य उपनिर्वाचन

एमालेबाट गृहमन्त्री थापा, स्वतन्त्र उम्मेदवार डा. देवकोटा र नेमकिपाका कृष्ण बहादुर तामाङको उम्मेदवारी दर्ता

एमालेबाट गृहमन्त्री थापा, स्वतन्त्र उम्मेदवार डा. देवकोटा र नेमकिपाका कृष्ण बहादुर तामाङको उम्मेदवारी दर्ता

हेटौंडा, २४ वैशाख (०७८) । राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनका लागि तीन जनाले उम्मेदवारी दर्ता गराउनु भएको छ । नेकपा एमालेको तर्फबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’, स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को तर्फबाट कृष्णबहादुर तामाङले उम्मेदवारी दर्ता गराउनु भएको हो ।

हेटौंडा –५ मा रहेको वाग्मती प्रदेश निर्वाचन आयोगको कार्यालय पुगेर गृहमन्त्री थापाले मनोनयन दर्ता गराउनुभएको हो । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल प्रस्तावक तथा समाजिक विकास मन्त्री सरस्वती बस्नेत उहाँको समर्थक रहनु भएको छ ।

आज बिहान १० बजेदेखि साँझ ४ बजेसम्म दर्ताको समय तोकिएको थियो । गृहमन्त्री थापाले १२ बजेर ३० मिनेटमा मनोनयन दर्ता गराउनुभएको थियो । जित सुनिश्चित भएपछि मात्रै थापालाई उम्मेदवार बनाउने बताएको एमालेले शुक्रबार बिहानमात्रै थापालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । गृहमन्त्री थापाले पत्रकारहरुसँग प्रतिक्रिया दिँदै आफ्नो जित सुनिश्चित भएको बताउनुभयो ।

उम्मेदवारी दर्ता गराउन थापा आजै हेलिकप्टरबाट हेटौंडा आउनुभएको थियो । मनोनयन दर्ताका लागि वाग्मती प्रदेश मन्त्रिमण्डलको टोली र नेकपा एमालेका नेतासहितको टोली थापासँगै प्रदेश निर्वाचन आयोगको कार्यालय पुगेको नेकपा एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठले बताउनुभयो ।

वाग्मती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनका लागि काँग्रेस–माओवादीको साझा उम्मेदवारका रुपमा डाक्टर खिमलाल देवकोटाले उम्मेदवारी दर्ता गराउनु भएको छ । वाग्मती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनका लागि डा. खिमलाल देवकोटाले मनोनयन दर्ता गराउनु भएको हो । कांग्रेस, माओवादी तथा माधव नेपाल पक्षका नेताहरुसहित हेटौंडा –५ मा रहेको वाग्मती प्रदेश निर्वाचन आयोगको कार्यालय पुगेर देवकोटाले मनोनयन दर्ता गराउनुभएको हो ।

राष्ट्रियसभा उपनिर्वाचनमा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका देवकोटाले चुनाव चिन्ह कलम माग गर्नु भएको छ । देवकोटाले आफु स्वतन्त्र उम्मेदवार भएको दावी गर्दै निर्वाचन आयोगसँग कलम चुनाव चिह्न माग गर्नुभयो ।

बिहान १० बजेदेखि साँझ ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएकोमा उहाँले ११ बजेर १५ मिनेटमा मनोनयन दर्ता गराउनु भएको थियो । मनोनयन दर्ताका लागि काँग्रेस वाग्मती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्कट्टेललगायतको टोली देवकोटासँगै बागमती प्रदेश निर्वाचन आयोगको कार्यालय पुगेको थियो ।

देवकोटाको उम्मेदवारीको प्रस्तावकमा नेकपा (माओवादी केन्द्र) वाग्मती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेल र समर्थकमा नेपाली काँग्रेस वाग्मती प्रदेशका प्रमुख सचेतक राधा घले रहनु भएको छ ।

राष्ट्रियसभाको उपनिर्वाचनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षको संयुक्त गठबन्धनले देवकोटालाई साथ दिएको छ ।

यसैगरी वाग्मती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनका लागि नेमकिपाका उम्मेदवारले पनि मनोनयन दर्ता गराएका छन् । वाग्मती प्रदेश निर्वाचन आयोगको कार्यालय पुगेर नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङले पनि मनोनयन दर्ता गराउनु भएको हो । तामाङको उम्मेदवारीको प्रस्तावकमा प्रदेश सांसद सुरेन्द्रराज गोसाईँ र समर्थकमा सांसद सिर्जना सैँजु रहनुभएको छ ।

वाग्मती प्रदेशसभामा ६६ निर्वाचन क्षेत्रका एक सय १९ स्थानीय तहका प्रमुख, उपप्रमुख २३८ जना र वाग्मती प्रदेशसभा सदस्य एक सय १० जना गरी कूल तीन सय ४८ मतदाता रहेको प्रदेश निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार आगामी जेठ ६ गते हेटौँडा उपमहानगरपालिका वडा नम्वर ४ स्थित भुटनदेवी मावि भवनमा दुई मतदान केन्द्र रहने गरी व्यवस्थापन मिलाइएको छ । एउटा स्थानीय तहका लागि र अर्को प्रदेश सभा सदस्यका लागि केन्द्र निर्धारण गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका